कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामथ्र्य प्रयोग हुनेछ

प्रधानमन्त्री, केपी शर्मा ओली

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ४३औं प्रधानमन्त्रीको सपथ लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै पहिलो बैठकमा बोल्ने क्रममा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यको सबै सामथ्र्य लगाउने बताएका छन् ।

‘कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामथ्र्य केन्द्रित गरिनेछ । राज्यका सबै अंग यसमा परिचालन गरिनेछ र परिचालित हुन म आग्रह गर्दछु’ उनले भने ।

प्रधानमन्त्री ओलीले महामारीको अहिलेको समयमा सेवा भावका साथ सहयोग गर्न आग्रह गरेका छन् । उनले मुलुकका सबै अक्सिजन उद्योग पूर्ण क्षमतामा चलाउन पनि आग्रह गरेका छन् । अक्सिजन ढुवानी र वितरणलाई व्यवस्थित बनाउने भन्दै प्रधानमन्त्री ओलीले आवश्यकता र विरामीको चापका आधारमा अक्सिजन पाउने व्यवस्था गर्ने पनि बताए ।

महामारीका बेला स्वास्थ्य सामग्री, औषधि र स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा भ्रष्टाचार र अनियमिता गर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने पनि प्रधानमन्त्री ओलीले बताए । उनले यस्ता गतिविधि नियन्त्रणमा लाग्न सरकारका अंगहरुलाई निर्देशनसमेत दिए ।

प्रधानमन्त्री ओलीले सबै नेपालीलाई यथाशीघ्र कोभिड– १९ विरुको खोपको व्यवस्था गर्ने र उद्योग व्यवसायमा कोभिड–१९ को प्रभाव न्युनीकरणका लागि सहयोग गर्ने बचन समेत दिएका छन् ।