ओलीको चाहना आफ्नो सरकारलाई बहुमत जुटेन भने संसद विघटन गरी मध्यावधि चुनावमा जाने विपक्षी नेताहरुको आकलन

३१ वैशाख, काठमाडौं । आज दिउंसो दिउवा निवास बुढानीलकण्ठमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) का नेताहरुको बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरिएको बुझिएको छ । तीन दलका नेताहरुको बैठकले अब केपी ओलीले संसद विघटन गर्न सक्ने विश्लेषण गर्दै तीन दलीय सहकार्यलाई निरन्तरता दिने निर्णय गरेका छन् ।

छलफलमा सभापति देउवासहित माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता थियो ।

सहभागी एक नेताका अनुसार केपी ओलीले विश्वासको मत लिनका लागि जेठ अन्तिमसम्म कुर्दैनन्, जेठको पहिलो साता नै संसद अधिवेशन बोलाउने तयारी थालिएको छ, १५ गते अगावै विश्वासको मत माग्छन् र बहुमत नपाए धारा ७६ (५) मै नगई संसद विघटन गरेर अध्यादेशबाट बजेट ल्याउँछन् ।

ओलीको चाहना आफ्नो सरकारलाई बहुमत जुटोस् भन्ने भन्दा पनि बहुमत जुटेन भन्ने देखाएर संसद विघटन गरी मध्यावधि चुनावतिर जाने रहेको विपक्षी नेताहरुको आकलन छ । स्रोतले भन्यो, ‘उनलाई बहुमत चाहिएकै छैन, त्यसैले महन्थ ठाकुरलाई तटस्थ नै राखेर माधव पक्षलाई पनि राजीनामा दिनबाट रोकेर संसदमा कसैको बहुमत पुग्न नदिने ओलीको रणनीति छ ।

विपक्षी गठबन्धनको बहुमत नजुट्नुमा विदेशी चलखेल पनि जिम्मेवार रहेको र माधव नेपालले समेत धोका दिएको नेताहरुको निश्कर्ष छ । यद्यपि माधव नेपाल र महन्थ ठाकुरसँग सम्वाद जारी राख्न नेताहरु सहमत भएको स्रोतले बतायो ।

साथै, देशमा बढिरहेको कोरोना महामारीको विरुद्धमा पार्टी पंक्तिलाई परिचालन गर्ने र सरकारलाई पनि घच्घच्याउने निर्णय भएको सहभागी ति नेताले बताएका छन् ।