गण्डकी प्रदेशमा पछिल्लो १० दिनमा ९४ जनाको मृत्यु

आज भोली कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्ने क्रममा गण्डकी प्रदेशमा पछिल्लो १० दिनमा ९४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्, जसमध्ये ५१ जना कास्कीका छन् । वैशाखभरी गण्डकीमा १११ जनाको मृत्यु भएको छ, उनीहरुमध्ये ५९ जना कास्कीका मात्र छन् ।

हिजो मात्र गण्डकी प्रदेशमा १४ जनाको मृत्यु भयो । बुधबार १६ जनाको मृत्यु भएको थियो । २५ गते १२ जना, २६ गते १३ जना र २७ गते १२ जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमितलाई अक्सिजनको मात्र ह्यात्तै घट्यो भन्ने जानकारी नै हुँदैन,’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. शरद बराल भन्छन्, ‘सञ्चो भयो भनेकाहरुले पनि मृत्युवरण गरिरहेका छन् ।’

केही समयअघि १७४ वटा नमूना परीक्षण गर्दा १०४ जनामा युके भेरियन्ट देखिएको थियो । त्यसमा पनि २७ जना ११ वर्षका बच्चामा देखिएको छ । नयाँ भेरियन्ट छिटो फैलिने मात्र होइन, जुन सुकै उमेर समूहलाई पनि असर गर्ने गरेको पाइएको छ ।

‘कोरोना संक्रमण दर हेर्दा हामी एकदमै जटिलतामा छौं । सामान्य रुपको देखिराखेको कोरोनाभन्दा धेरै फरक प्रकृतिको हामीले बेहोरिरहेका छौं,’ प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले भने, ‘अझै एक महिना संक्रमणसँगै मृत्यु बढ्नसक्छ, ।’