ओली र माधव बीच कार्यदल बनाएर सहमति गर्ने यसका लागि माधव पक्षले एक महिनाको समय कुर्ने

३० वैशाख, काठमाडौं । एमालेका अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको करिब ४ घन्टा लामो वार्तापछि नेपाल पक्षका सांसदले राजीनामा नगरेर पार्टीभित्रको विवाद मिलाउन दुबै नेताबीच कुरा भएको र यसका लागि माधव पक्षले एक महिनाको समय दिएको छ ।

अध्यक्ष ओलीसँग चपली हाइटमा झन्डै चार घन्टा भएको वार्तापछि निस्कने बेला नेता नेपालले पत्रकारहरुसंग भन्दै अब राजीनामाको कुरा दुई–चार दिनलाई ट¥यो ।

ओलीले फागुन २८ गते गरेको निर्णय फिर्ता गर्ने र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन अब विभिन्न तहमा छलफल हुने बताए । त्यसका लागि दुबै पक्षबाट कार्यदल बनेर छलफल गरेर सहमति खोजिने बताएका थिए ।

नेपाल पक्षले राजीनामा नगरेपछि ओलीको तत्कालको समस्या टरेको छ । कांग्रेस र माओवादी केन्द्रले बहुमतीय सरकार बनाउने प्रस्ताव राष्ट्रपतिकहाँ लैजाने छैनन् । त्यसो भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सम्भवतः आजै वा भोलि संविधानको धारा ७६ को ३ अन्तर्गत अल्पमतको प्रधानमन्त्रीका रूपमा सपथ गराउने छन् ।

प्रधानमन्त्री ओलीको खड्गो भने टरेको छैन । एक महिनाभित्र उनले संसदमा विश्वासको मत लिनु पर्नेछ ।

विश्वासको मत पाएनन् भने उनी फेरि पदमुक्त हुनेछन् । आउने तीस दिन माधव नेपाल समूहले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री ओलीलाई दबाब दिनेछन् ।