नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका हुन् ।

बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।

३२ सांसदको समर्थन रहेको जनता समाजवादी पार्टीभित्र सरकार गठनका विषयमा विवाद रहेकाले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बहुमतको सरकार गठन गर्नबाट पछि हटेका हुन् ।

बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले देउवालाई भेटी सरकार गठनमा साथ दिन नसक्ने बताएका थिए ।

सरकार गठनमा बहुमत पु¥याउन कांग्रेस र माओवादी केन्द्रले माधवकुमार नेपाल पक्षका नेकपा एमाले सांसदको राजीनामा आशा गरेका थिए । तर प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार दिउँसो छलफल भएपछि नेपाल पक्षले तत्काल राजीनामा नदिने भएको छ ।

यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । उनी जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र समूहका सांसदको समर्थन लिएर बहुमतको प्रधानमन्त्री नै दावी गर्ने वा संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री बन्ने भन्ने प्रष्ट छैन । किनकी बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ ।