३० वैशाख, काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आपसमा गाभिने (मर्जर) सम्झौता भएको छ । आज दुई बैंकबीच भएको प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहने हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले बताए ।
अहिले नामको विषयमा मात्रै सहमति भएको उनले बताए । दुई बैैंक मर्जरपछि बन्ने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक चुक्ता पुजीको आधारमा नेपालकै ठूलो बैंक बन्नेछ ।
हिमालयन बैंकका अध्यक्ष गौतम सकेसम्म चाडो एकीकृत कारोबार हुने गरी काम अघि बढ्ने बताउँछन् ।
दुई बैंक आपसमा गाभिएपछि नेपालमा वाणिज्य बैंकको संख्या २६ मा झर्नेछ । दुई बैंक एक भएपछि कुल चुक्ता पुँजी करिब २७ अर्ब रुपैयाँ पुग्ने छ ।
आज दुबै बैंकले जारी गरेको संयुक्त विज्ञप्तिमा मर्जरपछि बैंकको निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ पुग्नेछ । यसैगरी शाखा संख्या १५२ र कर्मचारी संख्या २५ सय भन्दा बढी पुग्नेछ ।
मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा दुबै बैंकको तर्फबाट ३÷३ जना सञ्चालक नियुक्त हुने र नयाँ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ ।
हिमालयन बैंक राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको अगुवाइमा स्थापना भएको बैंक हो । अहिले पनि उनकै परिवारको निर्णय बैंकमा लागू हुन्छ । बैंकको प्रमुख कार्यकारी अधिकृत हिमालयका छोरा अशोक शमशेर छन् । हिमालय शमशेर बैंकको प्रमुख सल्लाहकारको रुपमा सञ्चालक समितिमा छन् ।
उता नेपाल इन्भेष्टमेन्ट बैंकमा पुराना बैंकर पृथ्वीबहादुर पाँडे अध्यक्ष र ज्योति प्रकाश पाँडे प्रमुख कार्यकारी अधिकृत छन् । पाँडे परिवार र राणा परिवारबीच पारिवारिक सम्बन्धसमेत रहेका कारण यी दुई बैंकहरु मर्जरमा जान सहज भएको हो ।
अहिले हिमालयन बैंकको अध्यक्ष रहेका गौतम कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै अध्यक्ष भएका हुन् । यसकारण मर्जरपछि पाँडे नै प्रमुख कार्यकारी अधिकृत हुने । मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी हिमालयनका अशोक राणा र डेपुटी प्रमुख कार्यकारी ज्योति प्रकाश पाण्डे हुने दुई पक्षबीच सहमति छ ।
बैंकको नेतृत्वमा कुनै समस्या देखिएको छैन । मर्जरका लागि अर्को महत्वपूर्ण कुरा भनेको स्वाप रेसियो हो । मर्जरपछि बन्ने बैंकमा कुन बैंकको सेयर हिस्सा कति हुने भन्ने विषयमा समेत सहमति जुटिसकेको छ ।
मर्जर सम्झौता अगावै यी बैंकहरुको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए रिपोर्ट) तयार गरिएको थियो । रिपोर्टले एक बराबर एककै हाराहारीमा स्वाप रेसियो हुनसक्ने प्रतिवेदन तयार गरेको छ । अर्थात दुबै बैंकको एक कित्ता सेयर बराबर मर्जर पछि बन्ने बैंकको पनि एक कित्ता नै सेयर हुनेछ ।