गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुनः नियुक्त

२९ वैशाख, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले आज साँझ पद तथा गोपनीयताको शपथ गराइन् ।

गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी थिइन् ।

बिपक्षी दलहरुले आफ्नो पक्षमा बहुमत सांसद पुर्याउन नसकेपछि गुरुङलाई ठूलो दलको हैसियतले ३० दिनका लागि मुख्यमन्त्रीमा नियुक्त गरिएको छ । उनले अबको ३० दिनमा प्रदेश सभामा विश्वासको मत लिनु पर्ने छ । बिपक्षी दलकाृे तर्फबाट नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भनी दावी पेश गरेका थिए । तर प्रदेश प्रमुख पौडेलले पोखरेलको दावी नपुग्ने भन्दै संविधानको धारा १६८ (३) अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् ।