बुढानिलकण्ठमा बेलुका पख देउवा, माधव नेपाल र भिम रावलबीच भेटवार्ता

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलबीच छलफल भएको छ ।
बेलुका पख भएको भेटमा नयाँ सरकार गठनबारे झन्डै ४५ मिनेट कुराकानी भएको स्रोतले बताएको छ ।

देउवाले नयाँ सरकार गठनका लागि एमाले वरिष्ठ नेता नेपाल पक्षसँग सहयोगको याचना गरिरहेका बेला यो भेट भएको हो ।

आफ्नै पार्टीका प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत माग्दा २७ गते नेपाल पक्षका सांसद अनुपस्थित भएका थिए । यससँगै ओली कामचलाउ प्रधानमन्त्रीमा परिणत भएका छन् ।

ओलीलाई विस्थापन गर्न कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गरिरहेको छ ।
माओवादी केन्द्र, जसपाको यादव र बाबुराम भट्टराई पक्ष देउवालाई सहयोग गरे पनि आवश्यक बहुमत नपुग्ने हुनाले देउवाले नेपाल पक्षको साथ खोजेका हुन् ।