सत्ता, ओली मनोविज्ञान र मृत्युभय

उनलाई बालुवाटारको हैकमवादी ठालूबाट बालकोटको खोपीमा झिंगाले पनि नपुछ्ने निर्धो खड्गप्रसाद ओलीमा रुपान्तरण हुनुपर्ने भयले सँधै सताइरहन्छ र उनी बालुवाटारमा अड्डा जमाउन पार्टी विभाजन, संवैधानिक निकायहरूमा सेटिङदेखि सांसद अपहरण र खरीदविक्रिसम्म जुनसुकै कुरा गर्न तयार छन् ।

सामान्यतया सत्तामा पुग्ने, त्यसमा पनि प्रधानमन्त्रीको कुर्सीमा पुग्ने, चाहना सबैजसो नेताहरूको हुन्छ । पाएसम्म राजनीतिक दलका कद पुग्ने नेताहरूले प्रधानमन्त्रीको कुर्सी ताक्नु र त्यहाँ गएपछि सकभर तल झर्न नपरोस् भनेर सोच्नु र आफ्नो सरकार जोगाउन प्रयत्न गर्नुलाई स्वभाविक रुपमा लिन सकिन्छ । तर सत्ता जोगाउन कति हदसम्म तन गिर्ने भन्ने कुरो महत्त्वपूर्ण रहन्छ ।

नेपालमा अहिलेसम्मको राजनीतिक इतिहासलाई हेर्ने हो भने राजतन्त्र र राणाकालमा आफू राजा र प्रधानमन्त्री बन्न आफ्नै बाबु र दाजुभाइहरूको हत्या गरिएको इतिहास छ । तर बहुदलीय व्यवस्था र लोकतान्त्रिक समयमा प्रधानमन्त्री बन्न विभिन्न कदम चाले पनि सो कुर्सीमा बसिरहन नैतिकताका सबै बाँधहरु भत्काएर आम नागरिकले पचाउनै मुस्किल पर्ने गरेर बसेको उदाहरण विरलै पाइन्छ ।

नेपाली काँग्रेसले २०४८ को निर्वाचनमा बहुमत ल्याएको भए पनि सरकारको नीति तथा कार्यक्रम फेल भएपछि पदबाट राजीनामा दिएर मध्यावधिमा गएका गिरिजाप्रसाद कोइरालाले निर्वाचन परिणामपछि सहजै सरकारको नेतृत्व हस्तान्तरण गरे । अल्पमतको सरकार गिर्ने अवस्था आएपछि प्रधानमन्त्री पदबाट राजीनामा गरेर मध्यावधि घोषणा गरेका मनमोहन अधिकारीले पनि सर्वोच्चको फैसला स्विकार गर्दै सहजै सत्ता बहिर्गमन गरे । शेरबहादुर देउवाले पनि अदालतको फैसलापछि सहजै सत्ता छोडिदिए । माओवादी सुप्रिमो प्रचण्डले त दुवै पटक कसैले नमागीकनै स्वयं राजीनामा गरिदिए, जुन नेपालको इतिहासमा हालसम्म कसैले गर्न सकेको छैन । पञ्चहरुले पनि पञ्चायतमा होस् या बहुदलकालमा, पदका लागि साह्रै लिँडेढिपी गरेनन् ।

नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्री पदमा रहिरहन अत्यन्तै तल्लोस्तरमा हर्कतहरू गर्न समेत तयार हुने पदलोलुप प्रधानमन्त्रीको रूपमा केपी ओलीले सबैलाई उछिनेका छन् ।

कुनै पनि सरकार प्रमुखले संसद विघटन गर्दा पहिले पदबाट राजीनामा दिने प्रचलन छ । तर केपी ओलीले त्यसो गरेनन् । संसद विघटनको प्रस्ताव सर्वोच्च अदालतले उल्टाएपछि प्रधानमन्त्रीले स्वतः राजीनामा दिनुपर्थ्यो । उनकै मन्त्रिपरिषद्का सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समेत सर्वोच्च अदालतले सरकारको निर्णय विपरीत फैसला गरेमा प्रधानमन्त्री र आफूहरूले पदमा बस्न नमिल्ने अन्तर्वार्ता दिएका थिए । तर केपी ओलीले राजीनामा दिएनन् ।

अर्को घटना अझ महत्त्वपूर्ण छ । जब प्रधानमन्त्रीको मृगौलाको दोस्रो प्रत्यारोपण हुँदै थियो, उनले प्रधानमन्त्री पदमा कसैलाई कार्यबाहक समेत दिन चाहेनन् । संसारमा राष्ट्र प्रमुख, सरकार प्रमुखहरु र कुनै पनि महत्त्वपूर्ण पदाधिकारीहरूले देशबाहिर जाँदा वा बिरामी हुँदा वा विदामा बस्दा कार्यबाहक दिने प्रचलन छ । सामान्यतयाः राष्ट्र प्रमुखहरु र सरकार प्रमुखहरु बेहोश हुन सक्दैनन्, त्यसो गर्दा सिंगो देशमा राज्य र सरकार विहीनताको अवस्था सिर्जना हुने विश्वव्यापी मान्यता छ । तर केपी ओलीले त्यो मान्यता पनि लत्याए । यो उनमा देखिएको पदलोलुपताको परकाष्ठा
हो ।

प्रधानमन्त्री केपी ओली पदप्रति किन यति आशक्त छन् रु किन उनी नैतिकता–अनैतिकताका सबै बाँधहरु भत्काएर पनि प्रधानमन्त्रीको कुर्सीमा टाँसिइरहन चाहन्छन् रु नेकपाको विभाजनपश्चात अब एमाले विभाजनलाई समेत दाउमा राखेर भए पनि किन उनी पदमा टाँसिइरहेका छन् रु यसबारे केही चर्चा हुनु आवश्यक छ ।

१. जेल जानुपर्ने भय :

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकाल नेपालको इतिहासको सबैभन्दा धेरै भ्रष्टाचार भएको काल हो । विगतमा भ्रष्टाचार लाखौँ र करोडौँको अंकमा हुने गरेकोमा केपी ओली प्रधानमन्त्री भएपछि अरबौँमा पुगेको छ । वाडड बडी विमान खरीद, नेपाल टेलिकमको फोरजी प्रकरण, कम्युटर ल्याब काण्ड, यति होल्डिङ प्रक्रण, ओम्नी काण्ड, एनसेल काण्ड, सेक्युरिटी प्रेस खरीद प्रकरण, फास्ट ट्य्राक प्रकरण, तामाकोसी सहित विभिन्न जलविद्युत आयोजना, रेल र रेलवेका लागि जग्गा खरीद प्रकरण, आयल निगम जग्गा घोटाला, सिंहदरबारभित्रको ठेक्का प्रकरण, एमसीसी प्रकरण र ३३ किलो सून काण्ड लगायतका समाचारहरु सञ्चार माध्यममा सर्वत्र आएका छन् ।

माथिका काण्डहरूको भष्टाचार भएको रकमलाई जोड्दा झण्डै एक खरबभन्दा माथि हुन आउँछ । कतिपय काण्डमा त संसदको सार्वजनिक लेखा समिति र संसदीय छानविन समितिहरूले भ्रष्टाचार किटान गरी अख्तियारलाई मुद्दा चलाउन निर्देशन दिएका छन् । भर्खरै चर्चित भएको खोपकाण्डको ३५ करोड जस्ता हिसाब हुन बाँकी काण्ड त कति छन् कति । गनेर र भनेर साध्य छैन ।

यस्ता भ्रष्टाचार काण्डमा कारबाही अघि बढाउनुको सट्टा प्रधानमन्त्री ओली ती भ्रष्टाचार काण्डलाई ढाकछोप गर्न र भ्रष्टाचारमा मुछिएकाहरूलाई संरक्षण गर्न आफै अग्रसर भएको सर्वविदितै छ । भ्रष्टाचारमा मुछिएकाहरू प्रधानमन्त्रीका विश्वास पात्रको रुपमा कायमै छन् । त्यसकारण यस्ता भ्रष्टाचार काण्डहरूमा उनी स्वयं संलग्न भएको कुरा सामान्य विवेक भएको मानिसले सजिलै आँकलन गर्न सक्दछ । यो कुरो धूर्त केपी ओलीले नबुझ्ने कुरै भएन ।

तसर्थ प्रधानमन्त्री ओलीले भ्रष्टाचार अभियोगबाट आफू र आफू निकटका मासिहरूलाई कम्तिमा ५ वर्षसम्म जोगाउनका लागि संविधान विपरीत अख्तियार दुरुपयोग आयोगमा असंवैधानिक तवरले पदाधिकारीहरू नियुक्त गरेका छन् । तर आफू सत्ताबाट हटेपछि ती मानिसहरुले पनि साथ दिने हुन् वा होइनन् रु भरोसा छैन । अहिले आफैलेजसरी अरू कसैले पेलेर राज्य यन्त्रहरूलाई सही ढंगले छानविन गराउन लगायो भने आफू र आफू निकटका अधिकांश मानिसहरूको बाँकी जीवन जेलमा कट्ने निश्चित छ । त्यसैले उनी बाँचुञ्जेल सत्तामा रहन चाहन्छन् ।

२. शक्तिहीनताको भय :

प्रधानमन्त्री केपी ओली नवसामन्तमा रूपान्तरण भएका छन् । झण्डै १ सय जना सुरक्षाकर्मी र आसेपासेहरू अघिपछि लगाएर हिँड्ने बानी परेका र कतै जानुपर्दा सडक खाली गरेर ‘सवारी’ चलाउने बानी परेका उनलाई यतिबेला सुपर म्यान वाला सुपेरियारिटी कम्पेल्क्स अनुभूति भइरहेको छ । प्रधानमन्त्री निवास वा अन्यत्र सबैले कोरोनाका प्रोटोकलहरु अनुसरण गर्छन्, तर उनले गर्दैनन् । बालुवाटारका बैठकहरुमा समेत अरु सबैले मास्क, सेनिटाइजरदेखि जुत्ताको बाहिर प्लाष्टिक हालेर बसेका हुन्छन् । उनी भने असनको साँढेझैँ फुकै हुन्छन् । ठालू शैलीमा बस्ने र बैठकमा भाग लिने गरेका छन् । देशको कार्यकारी प्रमुखको रूपमा उनले सामन्ती हैकम र रवाफ जमाउन पाएकोले उनको कृत्रिम मनोबल उच्च रहेको छ ।

उनलाई आफू ती मानिसहरू भन्दा भिन्न भएको लाग्छ । सत्ताको कारणले उनलाई आफ्नो ठालुपना, शक्तिको दम्भ र अहंकार प्रदर्शन गर्ने अवसर मिलेको छ । सत्तामा हुँदा उनले अरू कसैलाई नगनेको, सबैलाई डर, त्रास र धम्की दिएर अनैतिक, गैरकानुनी र असंवैधानिक गतिविधि गरेको हुनाले उनी शक्तिमा नरहेपछि उनलाई कसैले टेढ्ने छैनन् र हेप्नेछन् भन्ने पनि उनको अनुमान छ । जब उनी सत्ताबाट हट्नेछन्, उनका पछि न यी सामन्ती हैकम बाँकी रहन्छ, न उँचो मनोविज्ञान । त्यसैले उनलाई बालुवाटारको हैकमवादी ठालूबाट बालकोटको खोपीमा झिंगाले पनि नपुछ्ने निर्धो खड्गप्रसाद ओलीमा रुपान्तरण हुनुपर्ने भयले सँधै सताइरहन्छ र उनी बालुवाटारमा अड्डा जमाउन पार्टी विभाजन, संवैधानिक निकायहरूमा सेटिङदेखि सांसद अपहरण र खरीदविक्रिसम्म जुनसुकै कुरा गर्न तयार छन् ।

३. पार्टी विघटनको भय :

केपी ओली र उनको गुट कुनै राजनीतिक विचार, सिद्धान्त र आदर्शबाट सञ्चालित छैन । उनको पार्टी अब कम्युनिस्ट पार्टी नरहेर व्यक्तिगतरूपमा उनको चाकरीमा लिप्त अवसरवादी, भ्रष्टाचारी र गुण्डाहरूको अराजनीतिक झुण्डमा रूपान्तरण भएको छ । त्यसैले उनको पार्टी वैचारिक रुपमा विघटित भइसकेको छ ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला अघिसम्म केपी ओलीको पार्टी संगठनात्मक रुपमा समेत विघटनको छेउमा पुगेको थियो । त्यसैले उनले ११ सयको केन्द्रीय समिति बनाएका थिए भने १५ हजार मानिसहरूलाई केन्द्रीय सदस्य बनाउने वाचा कबोल गरेका थिए । हजारौँको संख्यामा पार्टी र जनवर्गीय संगठनमा अस्वभाविक र अवैधानिक बढुवा गरिएको थियो । त्यसको व्यवस्थापन गर्न उनलाई अहिले हम्मे हम्मे परिरहेको छ । त्यसमाथि ओलीलाई विगतमा आफूले काम नगर्ने तर सधैँ प्रचण्डसँग बार्गेनिङ गरेर खाने बानी परेका जनआधारविहीन केही माओवादीका भगौडाहरूलाई पनि बेहोर्नु र तिनको अस्वभाविक माग, घुर्की र नखरा खेप्नु परिरहेको छ ।

उनको पार्टी संगठनमा जनतालाई देखाउन लायक र लोकप्रिय नेताहरू छैनन् । जनताले चिनेकामध्ये अधिकांश भ्रष्ट, विवादित, अनैतिक र असामाजिक खालका मानिसहरू छन् । बाँकी मानिसहरू पनि उनले सत्ता र शक्तिको आडमा या त लोभ, लालच र प्रलोभनमा पारेर जुटाएका छन्, नत्र भने डर, धम्की र त्रासमा पारेर बाँधिराखेका छन् । उनी सत्तामा नरहने हो भने ती सबै मानिसहरूले उनको पार्टी छाडिदिने छन् र उनी जीवनमा फेरि दोहोराएर त्यो कुर्सीमा पुग्ने संभावना पनि न्यून छ ।

तसर्थ उनको पार्टी संगठनात्मक रुपमा अहिले नै विघटनको छेउमा पुगेको छ भने उनको कुनै भरपर्दो उत्तराधिकारी पनि देखिएको छैन । उनलाई आफूले कुर्सी छाड्ने बित्तिकै आफ्नो पार्टी, अहिलेसम्मको शान–शौकत भविष्य समेत सबै समाप्त हुने चिन्ता छ । उनलाई ती चिजविना आफू बाँच्नै नसक्ने आडम्बर पैदा भएकोले उनी बाँचुञ्जेल जति अनैतिक र घृणित कार्य गरेर भए पनि कुर्सीमा बस्न चाहन्छन् ।

४. राजनीतिक मृत्यूको भय :

कसैको पनि स्वास्थ्य अवस्थाबारे चर्चा गर्नु राम्रो कुरा होइन तर देशको प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सार्वजनिक सरोकारको विषयभन्दा बाहिर रहन सक्दैन । प्रधानमन्त्री केपी शर्मा ओली धेरै रोगका शिकार छन् । दुई पटक मृगौला प्रत्यारोपण गरेपछि शरीरमा ४ वटा मृगौला झुण्डाएर हिँड्नुपर्ने अवस्था छ, जसलाई उनैले कैयौँपटक नोबेल पुरस्कार पाउनुपर्ने गौरवको विषयको रूपमा समेत प्रस्तुत गरेका छन् । ओलीले शरीरमा धेरै रोगहरु र रोगपश्चातका प्रभावहरू बोकेर हिँडिरहेका छन् । त्यसमाथि उनको सरकार बनेपछि पहिले डेंगुको र अहिले कोरोना महामारीको कहर छ । आफ्नो मृगौलालाई बचाइराख्न र प्रत्यारोपण गरिएको बाह्य मृगौलालाई शरीरको आन्तरिक प्रणालीले नचिनोस् भन्नका लागि रोगप्रतिरोधात्मक क्षमता कम गर्ने औषधिहरु लिइरहनु पर्छ । उनले मासिक रुपमा ६० हजार रुपैयाँको पानी मात्र पिउने गरेको तथ्य बाहिरिएको छ, जसलाई आजसम्म उनले खण्डन गरेका छैनन् । अन्य रोगका समस्यालाई बल्झिन नदिन र रोगप्रतिरोधात्क क्षमता कम हुँदा रोगको संक्रमणबाट आफूलाई जोगाइरहन उनले धेरै औषधिहरू, स्टेरोइडहरू र सरसफाइका विधिहरू अपनाउनु पर्छ । उनमा देखिएको अस्वभाविक मोटोपना र शारीरिक परिवर्तन त्यसैको परिणाम हो ।

उनी प्रधानमन्त्रीको कुर्सीबाट हटे भने यी सबै सेवा–सुविधा र नवसामन्ती रवाफको अन्त्य हुनेछ । त्यस्तो भयो भने उनको मनोविज्ञान खस्किने छ । अरबौँ रुपैयाँका भ्रष्टाचार काण्डहरू सार्वजनिक भए पनि महिनाको ६० हजारभन्दा धेरैको पानी तिरेर खान कसलाई रहर होला रु त्यसमाथि उनी पैसा चिनेका मान्छे हुन्‌ ।

उनलाई आफू प्रधानमन्त्रीको कुर्सीबाट हटेपछि स्वास्थ्य व्यवस्था, मनोवैज्ञानिक दबाब, नैतिक सीमा, सामाजिक घृणा र वितृष्णाका कारणले धेरै दिनसम्म राजनीतिक, सामाजिक र भौतिक रूपमा टिक्न सकिँदैन भन्ने लागेको छ । उनले यस्तो अवस्थामा राजनीतिक(वैचारिक अभियान चलाएर पार्टी निर्माण गर्न र सत्तारोहण गर्न संभव छैन । त्यसमाथि ठालू पल्टिनुपर्ने नवसामन्ती चिन्तन उनमा विद्यमान छँदैछ । त्यसैले उनले आफ्नो राजनीतिक र सामाजिक जीवन बचाउन बाँचुञ्जेल जे(जे गरेर वा जतिसुकै बद्नाम भएर पनि कुर्सीमा बसिरहन चाहन्छन् ।

अन्त्यमा, यसरी सिंगो नेपाली कम्युनिस्ट आन्दोलनले कम्युनिस्ट एकता, देशको इतिहासमा पहिलो पटक कम्युनिस्टहरूको बहुमतको सरकारको नेतृत्व गर्ने र देशलाई शान्तिपूर्ण तरिकाले समाजवादको बाटोमा हिँडाउन अग्रसर नेताको रूपमा उच्च सम्मान गर्नुपर्ने अवसर पाएका एउटा पात्र केपी शर्मा ओली आफ्ने निजात्मक, भ्रष्ट, संकृण व्यक्तिवादी तथा निम्नपुँजीवादी चिन्तन र नवसामन्ती शैलीका कारण भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको दलाल, चीन विरोधी, संसदको हत्यारा, किसानमारा, मजदुरविरोधी, भ्रष्ट तथा धुन्धुकारी तानाशाहको पगरी गुथेर आफ्नो सत्तागत, राजनीतिक र सांगठानिक अवसानको मिति कुरिरहेका छन् । बाँकी सबैलाई थाहै छ ।

लेखक : अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)  का स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख हुन् ।