भक्तपुरमा टिपरले ठक्कर दिंदा स्कुटर चालकको मृत्यु

२७ वैशाख, काठमाडौं । भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक भक्तपुर सूर्यविनायक नगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवाल हो ।

हिजो राति अरनिको राजमार्गमा जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको लु २ ख ४५८८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको वागमती प्रदेश–०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा उक्त दुर्घटना भएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका सुवालको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

टिपर चालक लमजुङ बेंसीशहर गाउँपालिका–११ घर भई काभ्रेको बनेपा बस्ने ३५ वर्षीय टार्जन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।