एक सातामै १९ वर्षमुनिका २ हजार ५ सय ५६ जना किशोर–किशोरीमा कोरोना भाइरसको संक्रमण पुष्टि

१७ वैशाख, काठमाण्डौ । गएको एक सातामै १९ वर्षमुनिका २ हजार ५ सय ५६ जना किशोर–किशोरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातामा कुल २९ हजार ३ सय ७३ जना मानिसमा संक्रमण देखिएकोमा २५ सय बढी १९ वर्षमुनिका किशोर–किशोरी छन् ।

संक्रमणको नयाँ प्रकार (भेरियन्ट) बालबालिका र युवा उमेरका मानिसमा पनि उत्तिकै जोखिम रहेका कारण सो उमेर समूहका धेरै मानिसमा संक्रमण देखिन थालेको बताइएको छ ।

नेपालमा यसअघि यति धेरै किशोरकिशोरी र बालबालिकामा संक्रमण देखिएको थिएन। तर यसपटक भने संक्रमण देखिने मात्र हैन अस्पताल भर्ना हुनेमा पनि बालबालिका र युवा उमेरका मानिस पनि धेरै छन् ।

कोरोना उपचारमा खटिएका चिकित्सकहरूले समेत यसपटक अस्पताल भर्ना हुनेमा युवा उमेर र बालबालिका पनि रहेकाले यी उमेर समूहकालाई पनि उच्च सतर्कता अपाउन आग्रह गरेका छन् ।

यसअघि फैलिएको कोरोना युवा र बालबालिकामा त्यति धेरै जोखिम नरहेको बताइएकोमा अहिलेको नयाँ प्रकार भने झन् धेरै यी समूहका मानिसमा जोखिम रहेको अध्ययनले बताएको छ ।