कोरोना संक्रमण बढेपनि अब कोरोना बिमा नहुने

१७ वैशाख, काठमाण्डौ । दोस्रो चरणको कोरोना माहामारी बढ्नै गएपछि सरकारले कोरोना बीमा नै नगर्ने भएको छ । बीमा क्षेत्रको नियामक बीमा समितिले नयाँ कोरोना बीमा नगर्ने जनाएको छ । एक वर्षका लागि जारी गरिएको बीमालेखको अवधि एक वर्ष भएकाले नयाँ बीमालेख जारी नगर्ने समितिले जनाएको छ ।

दोस्रो चरणको बीमालेख असार मसान्तमा सकिदैछ । यो भदौ २८ गते पछि स्वास्थ्य बीमा अन्र्तगत गरिएको बीमालेख
हो । जसमा २५ हजार र ७५ हजार रुपैयाँको बीमा रहेको छ । एउटा बीमा लेख चैत मसान्तमै सकिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

उनले भने, ‘सरकारले नै एक वर्षको लागि बीमा भनेकाले सोको म्याद सकिएसँगै नयाँ जारी गरिनेछैन ।’ यद्यपि हालसम्म कोरोना संक्रमण भएर मागदाबी गर्नेहरु जसको प्रक्रिया पुरा भएको छ उनीहरुले भने भुक्तानी पाउने उनले बताए ।

कोरोना बीमा लघुबीमा निर्देशिका अन्र्तगत रहेर ल्याइएको बीमा लेख हो । यदि सरकारले नै बजेटमार्फत् आगामी वर्ष पनि कोरोना बीमाको लागि निर्देशन दियो भने सोही अनुसार आफुहरु अघि बढ्ने समितिले जनाएको छ । हालसम्म ६ अर्ब ६४ करोड ५२ लाख ७५ हजारको कोरोना बीमा प्रमाणित भएको छ । १३ हजार ९ सय ६२ मागदाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणीकरण पेन्डिङ रहेको छ ।

यता, सरकारले थप रकम नदिएको भन्दै बीमा कम्पनीहरुले कोरोना बीमा दाबी भुक्तानीमा ढिलाइ गरिरहेका छन् । कागजात पुरा भएपनि कोरोना बीमा पाउँन कम्पनीहरुले सास्ती दिने गरेको आरोप सर्वसाधारणले लगाउँदै आएका
छन् । नेपाल इन्स्योरेन्सले त सरकारबाट पैसा नआएको भन्दै तत्कालका लागि भुक्तानी बन्द गरेको सार्वजनिक सूचना नै निकालेको थियो । सरकार र कम्पनीहरूबीच १ अर्ब रुपैयाँसम्मको भुक्तानी बीमा कम्पनीले नै व्यहोर्ने सहमति भएको थियो र त्यो भन्दा माथिको १ अर्बको नेपाल रिइन्स्योरेन्स कम्पनीले व्यहोर्ने सहमति भएको थियो । त्यसपछिको ५० करोड रुपैयाँ बीमा समितिमा रहेको विपत्ति फण्डबाट र यसले नपुगेको सबै सरकारबाट भुक्तानी हुने सहमति भएको थियो ।