यसरी गर्न सकिन्छ एप्पल घडीबाट आइफोन अनलक

एप्पलले केही दिन अघि आइफोनका लागि नयाँ आइओएस १४.५ र एप्पल घडीका लागि वाचओएस ७.४ संस्करण सार्वजनिक गरेको थियो।

नयाँ अपडेट अन्तर्गत कम्पनीले आफ्ना उपकरणमा थुप्रै फिचर थपेको छ। जसमा प्रयोगकर्ताले एप्पल घडीबाट नै आफ्नो आइफोन अनलक गर्न मिल्ने सुविधा पनि रहेको एप्पल इन्साइडरले उल्लेख गरेको छ।

आइफोनमा आइओएस १४.५ र एप्पल घडीमा वाचओएस ७.४ संस्करण डाउनलोड गरेपछि प्रयोगकर्ताले मास्क लगाएर फेस आइडीबिना आइफोन खोल्न सक्नेछन्। यो फिचर पाउनका लागि उपकरणमा सो नयाँ संस्करण डाउनलोड गरेर आइफोन र एप्पल घडी एकआपसमा कनेक्ट गर्नु पर्ने एप्पलले बताएको छ।

प्रयोगकर्ताले आफ्नो आइफोनको सेटिङमा गइ ‘फेस आइडी एण्ड पासकोड’ विकल्पमा क्लिक गरेर ‘अनलक वीथ एप्पल वाच’ फिचर अन गर्नु पर्ने हुन्छ। साथै दुवै आइफोन र घडीमा वाइफाइ र ब्लुटुथ अन हुनुपर्छ, अनि प्रयोगकर्ताले घडी आफ्नो नाडीमा लगाएर अनलक गर्नु पर्छ।

यसैगरी घडीबाट लक खोल्नका लागि आइफोनसँग दुरी धेरै टाढा हुनु हुँदैन। यसरी आइफोनको स्क्रिनमा हल्का ट्याप गरेर वा स्क्रिन हेर्ने बित्तिकै घडीबाट भएको प्रणालीले प्रमाणीकरण गरेर आइफोनको लक खोल्छ।

 

यति गरेपछि प्रयोगकर्ताले बाहिर भिडभाडमा भएको बेला आइफोन अनलक गर्नलाई आफ्नो मास्क खोलिरहनु पर्दैन। कोरोनाको महामारी समय एप्पलले ल्याएको यो फिचर आइफोन प्रयोगकर्ताका लागि निकै उपयोगी रहेको एप्पल इन्साइडरले जनाएको छ