रोल्पाको पिराले गाउँमा आगलागी हुँदा २६ घर र १५ वटा गोठ जले

१५ वैशाख, काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका, पिराले गाउँमा हिजो रातिदेखि आगलागी हुँदा २६ घर र १५ वटा गोठ जलेर नष्ट भएको छ ।

घनवाङ जंगलमा लागेको आगो हावाले गाउँमा पु¥याएपछि फुसका घरहरु जलेको जिल्ला प्रहरी कार्यालय बताए । घटनामा भने कुनै मानविय क्षति भएको छैन, १६ बाख्रा र ७ गाई चाहिँ जलेका छन् ।

आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । यहाँ दमकल आउन सक्ने ठाउँ होइन, मोटो र सेउलाले छोपेर धेरै हदसम्म आगो नियन्त्रणमा आइसकेको छ ।

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् । सुरुमा उनीहरु जंगलमा लागेको आगो निभाउँदा खटिएका कारण गाउँमा ठूलो क्षति भएको बताएका छन् ।

आगलागीका कारण खानेपानीको पाइपहरु जलेका छन्, विद्युत् अवरुद्ध छ । आज बिहान प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीसहितको टोलीले आगलागी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।