पूर्वाञ्चल विश्वविद्यालयका १० जना कर्मचारी पक्राउ

१२ वैशाख, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले विद्यार्थीहरूसँग मोटो रकम लिएर परीक्षा अगावै प्रश्नपत्र आउट गरेको अभियोगमा पक्राउ गरिएको हो । अभियुक्तहरुले परीक्षा हुनु भन्दा दुई घण्टा अगाडि नै प्रश्नपत्र आउट गरेका थिए ।

प्रश्नपत्र आउट गर्नमा संलग्न रहेको अभियोगमा एक जना कर्मचारी र ९ जना विद्यार्थीहरूलाई पक्राउ गरेको हो । मोरङ प्रहरीले ८ जना विद्यार्थीहरूलाई काठमाडौंबाट शनिबार राति पक्राउ गरि ल्याएको छ भने अन्य दुई जनालाई विराटनगरबाट पक्राउ गरेको हो । यस घटनामा मोरङ प्रहरीले ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरी ‘शिक्षा ऐन’ अनुसार म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको इन्जिनियरिङ संकायको ३ वैशाखमा हुने स्नातक दोस्रो सेमेस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्टा अगाडि बाहिरिएको थियो ।

१ बजेदेखि हुने फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्टा अगाडि कर्मचारीको मिलेमतोमा ११ बजे प्रश्नपत्र आउट भएको खुलेको थियो । प्रहरीले एक साता लामो अनुसन्धान गरी पक्राउ गरिएकालाई आज अपरान्ह जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गदैछ ।

प्रहरीले गहन रूपमा अनुसन्धान गरेपछि प्रश्नपत्र आउट भएको घटनामा संलग्नहरूलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले पुष्टि गरे । पक्राउ परेका विद्यार्थी र कर्मचारी सबैको नाम भने गोप्य राखेको छ ।
परीक्षा अघि प्रश्न पत्र सार्वजनिक भएपछि परीक्षा नियन्त्रक कार्यालयका प्रमुख प्रा डा सूर्यप्रसाद संग्रौलाले तत्काल अर्को प्रश्नपत्र बनाएर परीक्षा लिएका थिए । प्रश्नपत्र आउट भएपछि अनुसन्धान गर्न मोरङ प्रहरीमा निवेदन दर्ता गराएका थिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार प्रश्नपत्र आउट गर्ने कर्मचारीलाई प्रत्येक विद्यार्थीहरूले १० देखि २० हजार भन्दा बढी रकम दिएको बताइएको छ ।