डिलर र उपभोक्तालाई खाना पकाउने ग्यासको खाली सिलिण्डर भरेर राख्न आग्रह

१२ वैशाख, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले डिलर र उपभोक्तालाई खाना पकाउने ग्यासको खाली सिलिण्डर भरेर राख्न आग्रह गरेको छ । एलपी ग्यास आयात हुने मुलुक भारतमा कोभिड माहामारी बढेका कारण त्यसबाट पर्ने असर कम गर्न तत्काललाई खाली सिलिण्डर भरेर राख्न आग्रह गरिएको संघले एक सूचनामार्फत जनाएको छ ।

गत वर्ष ग्यास भर्न एकै पटक उपभोक्ताहरु लाइन लाग्दा आपूर्तिमा चाप परेकाले यस वर्ष त्यस्तो नहोस् भनेर सूचना जारी गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले बताए । ‘गत वर्ष खाली सिलिण्डर एकै पटक बजारमा आउँदा आपूर्ति व्यवस्थामा समस्या देखियो, यस वर्ष त्यस्तो नहोस् भनेर खाली सिललिण्डर भर्न भनेका हौं,’ अध्यक्ष भण्डारीले अनलाइनखबरसँग भने । ग्यासको आपूर्ति व्यवस्था बिग्रिन नदिन र आपूर्तिलाई चुस्त बनाउन निगमले संघलाई पत्राचार गरेको पनि उनले बताए । भारतबाट नियमित रुपमा ग्यासको आपूर्ति भइरहेको र अहिले सहज भएकै अवस्थामा खाली सिलिण्डर भरेर भण्डारण गर्दा पछि समस्या नआउने अध्यक्ष भण्डारीको भनाइ छ ।
ग्यासको आपूर्ति व्यवस्थालाई चुस्त बनाउन र अभाव कतैबाट पनि नहोस भनेर व्यवसायीलाई सचेत गराइएको नेपाल आयल निगमले जनाएको छ । ‘गत वर्ष उपभोक्ता त्रसित हुँदा आपूर्ति चेनमा केही समय असर प¥यो । यो वर्ष त्यो हुनु भएन भनेर हामीले पूर्वतयारी गर्न भनेका हौं,’ निगमका प्रवक्ता विनितमणि उपाध्ययले अनलाइनखबरसँग भने ।

ग्यासको आपूर्ति नियमित रुपमा भइरहेको भएपनि पाइन्जेल चुप लागेर बस्ने र अभाव भएपछि लाइन लाग्ने उपभोक्ताको स्वभावलाई सुधार गर्न यस पटक पहिल्यै तयारी गरिएको उपाध्यायको भनाइ छ । भारतको धेरै टाढा रहेको पारादीप, हल्दीय, मथुरा लगायतका ठाउँबाट ग्यास ल्याउनुपर्ने र ती क्षेत्रमा कोरोना कहर बढी रहेका कारण सामान्य अवस्था रहँदै क्षमताले भ्याएसममको भण्डारण गनै नीतिमा निगम रहेको उनले बताए ।

अघिल्लो महिना अहिलेसम्मकै धेरै चार अर्ब रुपैयाँ बराबरको ४७ हजार मेट्रिकटन एलपी ग्यास आयात भएको पनि निगमले जनाएको छ । नेपाल आयल निगमको तथ्यांकअनुसार नेपालमा दैनिक ८० हजार सिलिण्डर र मासिक २६ लाख ७६ हजार ५७ सिलिण्डर ग्यास खपत भइरहेको छ ।