उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई समाचार छापेको निहुंमा पक्राउ

१२ वैशाख, काठमाडौं । उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई समाचार प्रकाशन गरेकै कारण देखाउंदै प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले दुर्गालाललाई बसुन्धाराबाट र अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कबाट नियन्त्रणमा लिइएको हो । उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

केहीदिन पहिले सो अनलाइनले प्रधानमन्त्री केपी शर्माओली र भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीचको सम्झौता भन्दै एक सामग्री प्रकाशन भएको थियो । पछि सोही अनलाइनले गल्ती स्वीकार गर्दै प्रेस काउन्सिलमा माफी समेत मागेको थियो ।

समाचार प्रकाशनपछि प्रहरीले नेटवर्कका सम्पादक बुद्ध लोप्चन सहितका पत्रकारलाई धरपकड शुरु गरेको थियो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीहरुलाई पक्राउ गरिएको थियो । उनीहरुलाई राज्य विरुद्धको कसुर र लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । अनिश तामाङ सहितका पत्रकारलाई धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो । तर, प्रहरीले सो आदेशको अवज्ञा गरेको छ ।