झलनाथ–माधव समूहका सांसदलाई तत्काल कारबाही नगर्ने

१२ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा ओली समुहले एमाले झलनाथ खनाल–माधव कुमार नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने जनाएको छ । ओली पक्षले माधव पक्षलाई पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएकाले कारवाही गर्ने चेतावनी समेत दिंदै आएको छ । आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकलाई खनाल–नेपाल समूहका सांसदलाई कारबाही गर्नेबारे छलफल भएपनि तत्काल कारबाही नगरी ‘उपयुक्त समयमा गर्ने’ निर्णय भएको जानकारी ओली समूहका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बताएका छन् ।

बैठकमा नेपाल समूहले पार्टीभित्र षड्यन्त्र गरिरहेको निष्कर्षमा निकालिएको उनीहरुले आगामी दिनमा गर्ने गतिविधिका आधारमा पार्टीले थप निर्णय गर्ने बताए । यसका लागि पार्टीको स्थायी कमिटीलाई आवश्यक निर्णय गर्न जिम्मेवारी दिइएको र उनीहरुको गतिविधिको आधारमा निर्णय लिइने उनको भनाइ छ ।
अस्ति शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई अलग राखेर पार्टीको स्थायी समिति गठन गरिएको थियो ।