१२ वैशाख, काठमाडौं । तत्काल देशभर लकडाउन नगर्ने परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बताएका छन् । साथै उनले लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको पनि बताए ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि पत्रकारहरुसँग बोल्ने क्रममा उनले, ‘अहिले तत्काल हामी नेशनवाइड लकडाउन चाहिँ गर्दैनौं । अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने नै छ ।
लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ र अलिकति पुस गर्ने मात्रै हो । आफैंमा अन्तिम समाधान होइन,’ मन्त्री ज्ञवालीले भने, ‘भर्खर–भर्खर अर्थतन्त्र तंग्रिन लागेको हुनाले सकभर अर्थतन्त्रमा र मान्छेको जीविकामा प्रभाव नपरोस् भन्ने सरकारको चाहना छ । त्यसो भएको हुनाले हटस्पटहरुमा पार्सल्ली लकडाउन हुन सक्छ तर त्यो लोकल मात्रै, नेशनवाइड लकडाउन चाहिँ हुँदैन ।