Breaking News

नेपालको राजनीतिले दुई–तीन दिनमा कोल्टे फेर्छ

८ वैशाख, काठमाडौं । नेपाली राजनीतिमा केही महिनादेखि आकाशमा रुमलिएको बादलल जस्तै भएको छ । केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न अहिले माओवादी केन्द्र र नेपाली काँग्रेसलाई हम्मेहम्मे परेको बेला प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अबको केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्ने विश्लेषण गरेको छ । सो पार्टीले माओवादी केन्द्र र जसपासँगको निरन्तरको वार्ता फलदायी भएकाले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ ।
काँग्रेसको पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा देउवाले ओली सरकार ढाल्न तीन दलबीच सहमति नजिक रहेको र अबको केही दिनमै राजनीतिले कोल्टे फेर्ने ब्रिफिङ गरेका थिए । बैठकपछि पार्टीका एक शीर्ष नेताले आजको बैठकमा देउवा निकै उत्साहित हुँदै प्रस्तुत भएको जानकारी दिए । उनका अनुसार देउवाले आफ्नो नेतृत्वमा छिट्टै सरकार बन्ने ब्रिफिङ गरेका थिए । उनले बैठकमा भनेका थिए, ‘चिजको विकास निकै क्लियर भइसक्यो । केही दिनमै अब राजनीतिले कोल्टे फेर्दैछ । निरन्तरको छलफल फलदायी बन्दै छ ।

जसपाको एउटा समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सघाउने अडान लिँदै आएपनि देउवाले अन्तिम सो पार्टीमा संकट आउन सक्ने भन्दै बैठकमा ब्रिफिङ गरे । बैठकमा सहभागी स्रोतका अनुसार जसपा विभाजित हुन सक्ने देउवाको भनाइ थियो ।

देउवाले नेकपा माओवादीले ओली सरकारलाई दिँदै आएको समर्थन छिट्टै फिर्ता लिने पनि बताएका थिए । ‘माओवादीले औपचारिक रुपमै समर्थन फिर्ता लिन्छ, जसपा जसरी पनि हामीतिरै आउँछ’, देउवाको भनाइ थियो, ‘त्यसपछि ओलीविरुद्ध अविश्वास प्रस्ताव आउँछ, काँग्रेसकै नेतृत्वमा सरकार बन्छ । दुई–तीन दिनमा राजनीतिले कोल्टे फेर्छ ।

 

नेपाली कांग्रेस