२४ घण्टामा १९३ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि

८ वैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्ने क्रममा पछिल्लो २४ घण्टामा १९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ० देखि ९ वर्ष उमेर समूहका ४३ र १० देखि १९ वर्ष उमेर समूहका भने १५० बालबालिका कोरोना संक्रमित भएका हुन् ।

देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ८९ हजार ७८७ पुगेको छ । उनीहरुमध्ये १० हजार ५८२ सक्रिय संक्रमित छन् ।

आज थपिएका नयाँ संक्रमितमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकाबाहिर बाँकेका २२५, रुपन्देहीका १२४, कास्कीका ८८, पर्साका ८१, दाङका ७४, बाग्लुङका ५३ र सुर्खेतका ५२ जनामा संक्रमण पुष्टि भएको छ ।