पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) जारी गर्न बन्द

८ वैशाख, काठमाडौं । पछिल्लो चरणमा कोरोना भाइरसका संक्रमण बढ्न थालेपछि सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) जारी गर्न बन्द गरेको छ ।

आज बुधबारदेखि जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलले जानकारी दिएका छन् ।

मन्त्रालयले आज सूचना जारी गर्दै कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको र सरकारले हालै कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेकाले ती ५ देशमा तत्कालका लागि नयाँ नो अब्जेक्सन लेटर जारी गर्ने कार्य स्थगित गरेको जनाएको छ ।

वैदेशिक अध्ययन अनुमति पत्र दिन बन्द गरिएका ५ देश धेरै नेपाली विद्यार्थी अध्ययनका लागि जाने देश हो । मन्त्रालयले ती देशमा नै अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने वैदेशिक अध्ययन स्वीकृतिपत्र दिइने बताएको छ ।