मेरो कित्ता’ अनलाइन सेवा सरकारले आजबाट शुरु

२ वैशाख, काठमाडौं । घरमै बसेर जग्गाको नक्सा प्रिन्ट, राजश्व भुक्तानीलगायतका व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन सेवा सरकारले आजबाट शुरु गरेको छ । मेरो कित्ताको वेबसाइट लगइन गरेर यो सेवा लिन सकिन्छ ।

काठमाडौं र भक्तपुरका दुई कार्यालयबाट शुरु भएको यो सेवा क्रमशः देशभरबाट पाइने नापी विभागले जनाएको छ । मेरो कित्ता सेवा शुरु भएपछि नापी कार्यालयमा हुने भिडभाड र होहल्ला कम हुनुका साथै सेवाग्राहीलाई सुविधा हुने विभागका अधिकारीहरू बताउँछन् ।

हामीले नापी विभागका सूचना अधिकारी दामोदर ढकालसँग यो सेवाको सम्बन्धमा केही जिज्ञासा राखेका छौं । यसबारे अधिकारी ढकालले पाँच बुँदामा प्रस्ट्याएका छन् ।

१. मेरो कित्ताबाट के गर्न मिल्छ ?

नापी कार्यालयबाट दुई प्रकृतिका सेवा प्रवाह हुन्छन् । एउटा मालपोतमा जानुपर्ने सेवा हुन्छ, अर्को सीधै नापी कार्यालयबाट लिन सक्ने सेवा हुन्छ । तीमध्ये मेरो कित्ताबाट ब्लुप्रिन्ट नक्सा, कित्ताकाट गर्दाखेरिको विवरण र फिल्डबुक प्रिन्ट गर्न मिल्छ । यसैगरी जग्गा धनीले प्राविधिकहरूलाई बोलाएर मेरो जग्गाको नापजाँच गर्दिनुस् भनेर अनुरोध गर्दै निवेदन पनि दिन सक्छन् ।

वित्तीय संस्था वा कुनै संस्थागत लगइनका लागि युजर नेम र पासवर्डको व्यवस्था गरिएको छ । नापी विभागले क्यूआर कोडको व्यवस्था गरेको छ ।

कुनै व्यक्तिले आफ्नो प्रयोजनका लागि अर्थात् घरमा राख्नका लागि पनि प्रिन्ट गर्न चाहन्छन् । उनीहरूले क्यूआर कोडमार्फत् गरे पनि त्यो भ्यालिड हुन्छ । कुनै संस्थामा पेस गर्नुपर्ने हो भने उहाँहरूले संस्थागत युजरको रूपमा दर्ता भएर आफैं लिनसक्नु हुन्छ ।

मेरो कित्ता सेवा शुरु भएपछि नापी कार्यालयमा हुने भिडभाड र होहल्ला कम हुनुका साथै सेवाग्राहीलाई सुविधा हुने विभागका अधिकारीहरू बताउँछन् ।
अनलाइनमार्फत् नै राजश्व तिर्न सकिन्छ । तोकिएको राजश्व (शुल्क) हामीले म्यासेजमार्फत् पठाउँछौं ।

२. आधिकारिक हुन्छ त ?

मानौं कुनै व्यक्तिले प्रिन्ट गर्नुभयो । त्यो लगेर कुनै संस्थामा पेस गर्नुभयो । उहाँहरूलाई आधिकारिकताको सम्बन्धमा केही समस्या भयो वा केही जिज्ञासा भयो भने उहाँले संस्थागत युजरको हिसाबले लगइन गरेर भेरिफाइ गर्ने व्यवस्था पनि गरिएको छ ।

संस्थागत युजर भए पनि संस्थाले नक्सा प्रिन्ट दिने होइन । संस्थाले पनि व्यक्तिकै लिने हो । नक्सा पास गर्न तपाईं–हामी पालिकामा गयौं भने पालिकाले पनि हाम्रै नक्सा खोज्ने हो । त्यो अवस्थामा राजश्व व्यक्तिले तिर्ने र संस्थाले आफ्नो लगइन, युजरबाट रिक्वेस्ट गर्न सकिने व्यवस्था छ ।

३. चार किल्ला प्रमाणित

चार किल्ला प्रमाणित गर्नका लागि सेवाग्राहीहरू कार्यालयसम्म धाइरहनु पर्दैन । राजश्व बुझाएर निवेदन सबमिट हुन्छ । त्यो निवेदन फस्ट कम, फस्ट सर्भको आधारमा कार्यालयमा दर्ता हुन्छ । निवेदन प्राप्त भएको मितिले १५ दिनसम्ममा फिल्डमा जानुपर्ने समय तोक्नुपर्ने छ भन्ने हाम्रो निर्देशिकामा भएको व्यवस्था बमोजिम हामीले सेवाग्राहीलाई यो मितिमा, तपाईंको क्षेत्रमा रेखांकनका लागि कार्यालयका प्रतिनिधि आउँदैछन्, तपाईं आफ्नो तयारी गरेर बस्नुहोला भन्ने सूचना प्रवाह गर्छौं । यसो हुँदा सेवाग्राही कार्यालयमा धाइरहनु पर्दैन, आफ्नै ठाउँमा तयारी गरेर बस्दा हुनेभयो ।

४. कहाँ–कहाँ लागू भयो ?

देशभर १२६ वटा कार्यालयहरू छन् । बिहीबारबाट सेवाग्राहीको बढी भिडभाड हुने डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयबाट यो सेवा प्रवाह भएको छ । यो हप्ताभित्र उपत्यकाभर र त्यसपछि बाँकी कार्यालयहरूमा क्रमशः कार्यान्वयन गर्दै जान्छौं ।

५. अन्य कार्यालयमा किन ढिलाइ ?

देशभरको डाटा केन्द्रको सर्भरमा राख्नुपर्ने हुन्छ । सर्भरमा डाटा क्लिनअपदेखि लिएर धेरै तयारी गर्नुपर्ने हुन्छ । हामीले सेवा अवरुद्ध गरेर यो काम गर्न सम्भव छैन । गर्नु पनि उचित हुँदैन । सेवा प्रवाह र डाटा क्लिनअपलगायतका काम सँगसँगै गर्नुपर्ने भएकाले पनि देशभर एकैपटक कार्यान्वयनमा ल्याउन नसकिएको हो । पहिलो कारण यही हो । दोस्रो कारण भनेको हाम्रो इन्टरनेट स्पिड, फाइबर कनेक्टिभिटी, इन्ट्रानेटको व्यवस्था, कार्यालयका पूर्वाधारहरू पनि हामीले तयार गर्नुपर्ने छ । त्यसैले हामी क्रमशः जान खोजेका छौं ।