बिद्यालय संचालनबारे सरकारको निर्णय पर्खिदै स्थानीय तह

२ वैशाख, काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौंसहित अति प्रभावित १४ जिल्लाहरुमा विद्यालय नजान अपिल गरेपछि स्थानीय तहहरु छलफलमा जुटेका छन् ।

स्वास्थ्य मन्त्रालयको अपिल सार्वजनिक भएलगत्तै काठमाडौं महानगरपालिकाले विद्यालयका सञ्चालनको विषयमा छलफल गरिरहेको शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए । मन्त्रालयको अपिल सार्वजनिक भएपछि हामी नगर स्तरीय छलफलमा छौं तत्काल निर्णय गर्छौं ।

ललितपुर महानगरपालिकाले भने विद्यालयबारे छलफल गर्ने तयारी गरेको शिक्षा शाखा प्रमुख महेन्द्र क्षेत्री बताउँछन् । ‘स्वास्थ्य मन्त्रालयको अपिलपछि छलफल गर्ने तयारी गरिरहेका छौं । केही दिनभित्रै निर्णय गर्छौं । अरु पालिकाले के गर्छ त्यसले पनि प्रभाव पार्छ’ उनले भने ।

भरतपुर महानगरपालिकाले भने आइतबारसम्म ठोस निर्णय गर्ने बताएको छ । महानगरपालिकाका प्रवक्ता अरुण पीडित भन्डारीले भने ‘तत्काल निर्णय गर्नका लागि सम्बन्धित कर्मचारीहरु विदामा बस्नुभएको कारण सकिएन । आइतबारसम्म ठोस निर्णय गर्छौं ।

निजी विद्यालयको प्रतिनिधिमूलक संस्था एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय कुरिरहेको बताए । उनले भने ‘स्वास्थ्यको अपिलपछि हामी शिक्षाले स्थानीय तहलाई दिने निर्देशन पर्खेर बसेका छौं ।