कोरोना संक्रमित भएका एक तिहाइमा देखियो मस्तिष्कसम्बन्धी समस्या

२५ चैत्र, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका एक तिहाइ मानिसमा मानसिक तथा मस्तिष्कसम्बन्धी समस्या देखिएकोे छ ।

आज प्रकाशित अध्ययन प्रतिवेदनअनुसार कोरोना संक्रमित भएको ६ महिनाभित्र करिब ३४ प्रतिशत मानिसमा मस्तिष्कसम्बन्धी वा मानसिक समस्या देखिएको थियो ।

यो अध्ययन कोरोना संक्रमणपछि निको भएका दुई लाख २३ हजार व्यत्तिमा गरिएको थियो । समस्या देखिएकामध्ये अधिकांशमा डर–चिन्ताको समस्या देखिएको छ । १४ प्रतिशतले आफ्नो मनोदशा परिवर्तन भइरहने समस्या देखिएको बताएका थिए भने १३ प्रतिशतले यसअघि कहिले पनि नदेखिएको मानसिक समस्या देखिएको बताएका छन् । यस्तै ०.६ प्रतिशत मानिसमा ब्रेन ह्यामरेज, २.१ प्रतिशतमा हृदयघात, ०.७ लाई डिमेन्सियाको समस्या देखिएको हो ।

कोरोनाको असर गम्भीर देखिएका मानिसलाई भने मष्तिष्कको समस्या हुने जोखिम बढी हुने अध्ययनको क्रममा पाइएको छ ।