छिमेकी भारतमा कोरोनाभाइरसको संक्रमणसँगै मृत्युदर बढ्यो एकैदिन ६३० जनाको मृत्यु

एजेन्सी

छिमेकी भारतमा कोरोनाभाइरसको संक्रमणसँगै मृत्युदर पनि बढेको छ।

मंगलबार भारतमा एक लाख ३ हजार ९ सय ५५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।  यो संख्या मंगलबार संसारकै सबैभन्दा धेरै हो।

भारतपछि ब्राजिल र अमेरिकामा संक्रमण धेरै छ।

गत वर्ष सुरू भएको कोरोनाभाइरसको पहिलो लहर चल्दा भारतमा एकैदिन यति धेरै संक्रमित थपिएका थिएनन्।

संक्रमित थपिएसँग भारतमा मृतकको संख्या पनि बढेको छ। पछिल्ला दिनहरूमा दैनिक ५ सयमुनि रहेको मृतकको संख्या मंगलबार  बढेर ६ सय नाघेको छ।

टाइम्स अफ इन्डियाका अनुसार मंगलबार भारतभरि ६३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्या गत वर्ष नोभेम्बर ५ यताकै सबैभन्दा बढी हो।

भारतमा अहिलेसम्म १ करोड २८ लाख मानिसमा कोरोना संक्रमण भएको छ भने १ लाख ६६ हजारले ज्यान गुमाएका छन्।

भारतका महाराष्ट्र, गुजरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, कर्नाटका,मध्य प्रदेश, केरला र बिहार राज्यमा अहिले संक्रमण तीव्र रूपमा फैलिरहेको छ।

कोरोनाको दोस्रो लहर नियन्त्रणभन्दा बाहिर जान थालेपछि महाराष्ट्र र दिल्लीमा रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ।