संसारका अर्बपतिको सूचीमा बेजोस एक नम्बरमा ३ सय स्थान तल ट्रम्प

एजेन्सी

संसारका केही धनाढ्यहरूका लागि कोरोनाभाइरसको महामारी धन बढाउने अवसर बनेर आयो। यही बीचमा धेरैले करौडौंको सम्पत्ति थपे।

फोर्ब्स म्यागजिनले मंगलबार  प्रकाशित गरेको २ हजार २ सय ५५ जना अर्बपति सूचीमा अमेजनका संस्थापक जेफ बेजोस यसपालि पनि सूचीको पहिलो नम्बरमा छन्। उनको सम्पत्ति १७७ अर्ब डलर छ। त्यस्तै टेस्लाका मालिका एलन मस्कको सम्पत्ति १५१ अर्ब डलर पुगेको छ। गत वर्ष २४.६ अर्ब डलरसहित सूचीको ३१ औं स्थानमा रहेका मस्क यसपालि सोझै नम्बर २ मा पुगेका हुन्।

यसपालि मात्र ४९३ जना अर्बपतिको सूचीमा थपिएका छन्। अर्थात् गत वर्ष हरेक १७ घन्टामा एक जना अर्बपति बनेका छन्। तीमध्ये पनि २०५ जना चिनियाँ नागरिक थिए।

तर सबैलाई सधैँ  पैसा कमाइरहन कहाँ सक्छन् र!

अमेरिकीका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति यसपालि  स्वाट्टै घटेको छ।

फोर्ब्सको सूचीमा ट्रम्प अघिल्लो वर्षभन्दा तीन सय स्थान तल झरेका छन्। अहिले उनी संसारका अर्बपतिको सूचीमा १२९९ औं स्थानमा छन्। सन् २०१७ मा राष्ट्रपतिको सपथ लिँदा ट्रम्पसँग साढे ३ अर्ब डलरको सम्पत्ति थियो अहिले त्यो घटेर २.४ अर्ब डलरमा पुगेको छ।

पछिल्लो समय उनले रिटेल लोकेसन, होटेल र गल्फ रिसोर्टमा धेरै सम्पत्ति गुमाएका छन्।