चुनावमा बम हान्नेहरुलाई मैले गृहमन्त्री बनाएँ, स्थायी कमिटीमा लगें । शायद मैले गल्ती गरें

अध्यक्ष, प्रचण्ड

२४ चैत, रुकुम । नेकपा माओवादी केन्द्र रुकुमले आज रुकुममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूबाट गल्ती भएको भन्दै आत्मालोचना गरेका छन् ।

अध्यक्ष प्रचण्डले दुःख कष्ट गरेका तथा नेतृत्वलाई बचाउने नेता कार्यकर्ता ओझेलमा परेको र जाली फटाहाहरुले महत्व पाएको स्वीकार गरे ।

एमाले प्रवेश गरेका नेताहरुतर्फ संकेत गर्दै, ‘मलाई गद्दार भन्ने, २०७० को चुनावमा बम हान्नेहरुलाई मैले गृहमन्त्री बनाएँ, स्थायी कमिटीमा लगें । शायद मैले गल्ती गरें ।

मैले तपाईंहरुलाई नै अगाडि बढाइराख्नुपर्थ्यो, नियुक्ति, पार्टीको पदहरुमा पदोन्नति गर्नुपर्थ्यो’ उनले अघि भने, ‘ गल्ती भयो । सोझासीधा, शहीद तथा घाइतेका परिवार ओझेलमा परे जस्तो, जाली फटाहाबाट हेडक्वार्टर घेरिए जस्तो भयो ।

यद्यपि आफूले कहिल्यै देश र जनताको हितमा दायाँबायाँ नगरेको उनले दाबी
गरे । सम्बोधनका क्रममा प्रचण्डले अब जनयुद्ध र जनआन्दोलनमा इमानदारी साथ लागेका नेता कार्यकर्तालाई अगाडि बढाउने प्रतिबद्धता समेत जनाए ।

प्रचण्ड अब कमजोर भए भन्न थालेको बेला रुकुमका जनताबाट आफूले उर्जा पाएको उनले सुनाए । उनले अघि भने, ‘मसँग मेरो पार्टी छ, नेता कार्यकर्ता छन् र क्रान्तिकारी जनताको कहिल्यै नटुंगिने साथ छ । सिंहदरबारमा बसेर प्रतिगमन गर्न चाहने सरकारलाई म खबरदार भन्न चाहन्छु ।