भिम रावल ईन्चार्ज सहित सुदूरपश्चिमका नौ वटौ जिल्लामा समानन्तर कमिटी गठन

२४ चैत, धनगढी । नेकपा एमाले माधव पक्षका सुदूरपश्चिमका ईच्चार्ज भीम रावलले आफ्नो संयोजकत्वमा नेकपा (एमाले) को समानान्तर समिति बनाएका छन् ।

नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको आज सकिएको प्रदेश स्तरीय विस्तारित बैठकले रावलको संयोजकत्वमा कमिटी बनाएको हो ।

खनाल–नेपाल पक्षधर नेताहरूले यसलाई समानान्तर समिति नभई अपूर्ण रहेको समितिको पूर्णता भनेका छन् ।

कैलाली जिल्ला कमिटीका सदस्य दीर्घ जोशीले भीम रावलको संयोजकत्वको कमिटी आधिकारिक भएको दाबी गरे ।

‘भीम रावलको नेतृत्व नै आधिकारिक हुन्छ नि । अहिले आएकालाई जिम्मेवारी तोक्दैमा हुँदैन,’ उनले भने, ‘हाम्रो समानान्तर कमिटी होइन, यो आधिकारिक हो, विस्तारित बैठकले पूर्णता दिने काम गरेको हो ।

प्रदेश, जिल्ला, स्थानीय तह र भातृ संगठनमा अपुरो रहेका पदमा जिम्मेवारी तोक्दै बाँकी रहे जिल्ला कमिटीले नै तोक्न सक्ने गरी बैठकमा निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।

२०७५ साल जेठ ३ गते अघि एमालेमा ७१ जनाको प्रदेश कमिटी थियो ।

पछि एमाले र माओवादी एकतापछि तत्कालीन नेकपा हुँदा प्रदेशमा १८२ सदस्यीय कमिटी बनेको थियो । खनाल–नेपाल पक्षको एमालेका प्रदेश कमिटी सदस्य तथा कार्यालय सचिव दिनेश सुवेदीले बैठकले प्रदेशमा सबै कमिटीलाई पूर्णता दिने गरेको बताए ।

एमाले अध्यक्ष ओलीले उपाध्यक्ष रावललाई हटाएर माओवादीबाट आएका लेखराज भट्टलाई प्रदेश इन्चार्ज तोकेका थिए भने पछि ओलीले उनलाई पार्टीबाट कारवाही गर्दै ६ महिनाका लागि निलम्बन गरेका थिए ।

उपाध्यक्ष भिम रावलले धनगढीमा दुई दिन बसेर आज दिउँसो सकिएको बैठकले नौ वटै जिल्लामा अध्यक्षको टुंगो पनि लगाएको छ । केही जिल्लामा पहिल्यै तोकिएकालाई यथावत राखिएको छ भने तोक्न बाँकी रहेका जिल्लामा नयाँलाई जिम्मेवारी दिइएको छ ।

यस प्रकारछन्, खनाल–नेपाल पक्षले बनाएका जिल्ला अध्यक्षहरू M

कैलाली– दीर्घ सोडारी
कञ्चनपुर– तारा लामा तामाङ
डोटी– चक्र बहादुर मल्ल
डडेल्धुरा– तारा जोशी
बैतडी– महादेव भट्ट
अछाम– शेर बहादुर कुँवर
बझाङ– दिल बहादुर सिंह
बाजुरा– गगन रावल

दार्चुला– तोक्न बाँकी