उत्तर कोरियाले टोकियो ओलम्पिकमा भाग नलिने

उत्तर कोरियाले यो वर्ष आयोजना हुने टोकियो ओलम्पिक्समा भाग नलिने भएको छ । आफ्ना खेलाडीहरुलाई कोभिड–१९ को संक्रमणबाट जोगाउनका लागि यस्तो निर्णय लिइएको जनाएको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार गत २५ मार्चमा ओलम्पिक कमिटीको बैठक बसेर सो निर्णय लिइएको बताएको छ ।

योसँगै ओलम्पिकलाई दुई देशबीच रोकिएको वार्तालाई पुनः सुचारु गर्नका लागि प्रयोग गर्ने दक्षिण कोरियाको आशामा पूर्ण विराम लागेको छ । सन् २०१८ मा दुवै पक्षले शीतकालीन ओलम्पिक्समा संयुक्त टोलीका रुपमा भाग लिएका थिए । त्यसपछि दुई देशबीच ऐतिहासिक सम्मेलनहरू भए ।

प्योङयाङले हालसम्म उत्तर कोरियामा कोरोना संक्रमण नभेटिएको बताए पनि विज्ञहरुले यो असम्भव भएको बताउँदै आएका छन् । योसँगै महामारीका कारण ओलम्पिकमा भाग नलिने उत्तर कोरिया पहिलो देश भएको छ । ओलम्पिक २३ जुलाईबाट सुरु हुँदैछ ।