विराज एकदमै मिहिनेती र अनुशासित खेलाडी हुन

१८ चैत्र, काठमाडौं । विराज महर्जनले सोमबार थ्री नेसन्स कपको फाइनल खेल्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदा उनीसँगै डेब्यु गरेका भरत खवासले भने बेन्चबाटै खेल हेरे ।

विराज र भरतको अनौठो संयोग छ । यी दुई खेलाडी डेब्यु गर्दा रुममेट थिए, १३ वर्ष संगै अन्तर्राष्ट्रिय फुटबल खेल्दा पनि रुममेट नै रहे । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदा स्वदेशमा वा विदेशमा रहँदा उनीहरु एउटै कोठामा बस्थे ।

विराजबारे के भने भरतले ?

हामी एकदमै मिल्ने साथी हौं । दुई दशकसम्म उनी संगै रहँदा र खेल्दा धेरै रमाइलो भयो । हामीले सन् २००८ मा पोखरामा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थियौं ।
विराज एकदमै मिहिनेती र अनुशासित खेलाडी हो र राम्रो लिडर पनि । उनी नेपाली फुटबल टिमकै सफल कप्तान हो, उनको कप्तानीमा नेपालले धेरै उपाधि जित्यो ।

हामी राष्ट्रिय टिममा डेब्यु गर्दादेखि नै रुमरेट छौँ । अहिले थ्री नेसन्स कपमा पनि हामी रुममेट नै हौँ ।
राष्ट्रिय टिममा १३ वर्ष बिताउँदा जहाँ गएपनि विराज र म रुम पार्टनर भयौँ । विराज मिहिनेती, अनुशासित र क्षमतावान खेलाडी हो । उनको देब्रे र दाहिने दुवै खुट्टा चल्छ । दुवै खुट्टा चलाउन सक्ने एक÷दुई जना खेलाडीमध्ये पनि विराज राम्रा छन् ।