स्वदेशी बिजुलीबाटै रासायनिक मल कारखाना खोल्ने

१२ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी बिजुलीबाटै रासायनिक मल कारखाना खोल्ने बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज गरेको कार्यक्रममा उनले रासायनिक मल कारखाना खोल्न आवश्यक पर्ने बिजुली दिन कुनै एक परियोजना नै उपलब्ध गराउन सरकार तयार रहेको ओलीले बताए ।

नेपालमा हालै अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले हालै दिएको प्रतिवेदनमा नेपालमा मल कारखाना सञ्चालन गर्न सकिने र त्यसका लागि भारतबाट प्राकृतिक ग्याँस ल्याउने उल्लेख गरेका थिए ।

नेपालमा केही वर्षमा विजुली खेर जाने स्थिति आउने तर भारतबाट प्राकृतिक ग्याँस ल्याएर मल कारखाना चलाउनु उचित नहुने विज्ञहरुले बताएका छन् ।

ओलीले मन्त्रीहरुले दिएको प्रतिवेदनको बचाउ गर्दै छिटो हुने भएकाले प्राकृतिक ग्याँसबाट चल्ने उद्योग बनाउनुपर्ने बाध्यता भए पनि अब सरकार बिजुलीबाटै कारखाना खोल्ने निर्णयमा पुगेको छ ।

ओलीले पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणाले कृषि विकासको क्षेत्रमा मुलुक एक कदम अघि बढेको बताएका छन् । कुनै न कुनै क्षेत्रमा हरेक दिन एक कदम अघि बढ्ने सरकारी नीति अनुसार कृषि क्षेत्रमा नयाँ प्रगति जनतासामु ल्याइएको ओलीको भनाई छ ।

‘देश एक कदम अघि बढेको छ । सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई बधाई छ, यो राष्ट्रिय सफलता हो’ ओलीले भने ।