शिवम् एयरलाइन्सले हवाइ उडान अनुमतिका लागि सरकार समक्ष आवेदन

१ चैत, काठमाडौं । व्यावसायिक हवाइ उडान अनुमतिका लागि शिवम् एयरलाइन्सले सरकार समक्ष आवेदन दिएको
छ ।

आन्तरिक उडान गर्न अनुमति माग गर्दै शिवम् एयरलाइन्सले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको हो ।

दिनेश आचार्य संस्थापक रहेको यो कम्पनीले अनुमतिका लागि मन्त्रालयमा आवेदन दिएको हो । कम्पनीले नेपालका पहाडी तथा हिमाली क्षेत्रमा छोटो धावनमार्ग भएका (स्टोल) विमानस्थलमा उडान गर्ने प्रस्ताव गरेको छ ।

मन्त्रालय निकट स्रोतका अनुसार एयरलाइन्सले काठमाडौं लगायतका अन्य हव विमानस्थलबाट उडान गर्ने प्रस्ताव गरेको छ ।

उडान अनुमतिका लागि आवेदन परेपछि मन्त्रालयले अहिले अध्ययन समिति बनाइसकेको छ । एयरलाइन्सलाई अनुमति दिन सकिने वा नसकिने विषयमा अध्ययन गर्न एउटा समिति बनाइएको एक उच्च अधिकारीले जानकारी दिए ।

उक्त समितिको सिफारिसका आधारमा मन्त्रालयले थप निर्णय गर्छ । समितिले कम्पनीको सेवा सञ्चालन गर्नसक्ने आधारहरु खोज्छ । कानूनी व्यवस्था पूरा गरेको वा नगरेको पनि हेर्छ । सबै हेरेर दिन सकिने सिफारिस गरेमा लाइसेन्स जारी हुन्छु मन्त्रालय निकट स्रोतले भन्यो ।

मन्त्रालयबाट लाइसेन्स पाएपछि कम्पनीले एनओसीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिन्छ । मन्त्रालयले लाइसेन्स दिनुअघि पनि सुझावका लागि प्राधिकरणको राय लिन्छ ।

प्राधिकरणले उडान सुरक्षाको ग्यारेन्टी तथा कम्पनीको सक्षमताका विषयमा अध्ययन गरेपछि एनओसी जारी गर्छ। यस्तो अनुमति पाएपछि एयरलाइन्सले जहाज खरिद गर्ने बाटो खुला हुन्छ । खरिद गरेपछि मात्र उडान अनुमतिको प्रक्रिया सुरु हुन्छ ।

हाल नेपालमा छोटो धावनमार्ग भएका विमानस्थलमा उडान गर्ने एयरलाइन्सको संख्या न्यून छ । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले नियमित उडान गर्दैन । निजीबाट तारा, समिट र सीता एयरलाइन्सले स्टोल गन्तव्यमा उडान गर्छन् । बुद्ध एयरले तुम्लिङटारमा उडान गर्छ । बुद्धले पनि स्टल गन्तव्यमा उडान गर्नका लागि छुट्टै एयरलाइन्स स्थापना गर्ने घोषणा यसअघि नै गरिसकेको छ ।