अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्स नेपालको महिला राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त

१३ फागुन, काठमाण्डौ । अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्स नेपालको महिला राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले फिलिप्सलाई महिला टिमको प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि एन्फाको पांच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षकको लागि प्रस्ताव गरेको थियो । फिलिप्स अहिले एन्फाको टेक्निकल डिरेक्टरको रुपमा छन् ।

गत वर्ष पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुदपछि महिला फुटबल टिमको प्रशिक्षक हरि खड्काले राजीनामा दिएका थिए । त्यसयता प्रशिक्षक पद खाली थियो । हरि खड्का भने हाल एन्फाको महिला फुटबल विभाग प्रमुख छन् ।

यस्तै एन्फाले महिला साफ च्याम्पियनसिप र एएफसी महिला एसियन कप छनोट खेलको तयारीका लागि महिला टिमको बन्द प्रशिक्षण छिट्टै सुरु गर्ने जनाएको छ । एन्फाले माघ ७ देखि फागुन ७ सम्म पहिलो पटक महिला फुटबलको डबल राउण्ड रोविन लिग आयोजना गरेको थियो । यसै प्रतियोगितामा राम्रो प्रदर्शन गरेका बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरिने एन्फाले जनाएको छ ।

नेपालले विश्वकप छनोट अन्तर्गत अर्को महिना अष्ट्रेलियासंग घरेलु मैदानमा खेल्नेछ र त्यसपछि महिला टिमको प्रशिक्षण सुरु गर्ने तयारी छ ।