युरोपियन लिग फुटबल अनिश्चितका लागि स्थगित

कदर समाचार
२० चैत्र, एजेन्सी । कोरोना भाइरसको महामारीले विश्व नै त्रसित भएको बेला युरोपियन फुटबल महासंघ (युईएफए) ले यस सिजनको च्याम्पियन्स लिग र युरोपा लिग फुटबल अनिश्चित कालका लागि स्थगित गरेको छ । युईएफएमा आवद्ध ५५ देशका प्रतिनिधिबीच भएको भिडियो कन्फ्रेस बैठकले उक्त निर्णय गरेको हो ।
युईएफएले अर्को सिजनको क्यालेन्डर सार्ने र जुनसम्मको सबै खाले अन्तर्रा्ष्ट्रिय फुटबल स्थगित गर्ने निर्णय पनि गरेको छ । यसअघि युरो कपको प्ले अफ खेल जुनमा हुने तालिका थियो । यस निर्णयले मे मा हुने वुमन्स च्याम्पियनन्स लिगको फाइनल खेलपनि अनिश्चितकालको लागि सरेको छ ।
बैठकले युरोपका अन्य लिग रद्द गर्ने या सुचारु गर्ने भन्ने विषयमा कुनै पनि निर्णय गर्न सकेको छैन । यसअघि प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित गरिएको थियो । अन्य लिगहरु पनि स्थगित भएका छन् । कोरोनाको संक्रमणले बीचमा रोकिएको जारी सिजनको लिग फुटबल अन्त्य हुन नसके के गर्ने भन्ने अन्योलता बढेको छ ।

लिग सक्नकै लागि यसअघि युरोकप एकवर्ष पछि सारिएको थियो । युईएफएले यदि जुन महिनासम्म रोकिएको लिग सुरु गर्न नसके सिजन त्यतिकै अन्त्य हुने बताउँदै आएको छ ।