पोखरामा बन्दको बिरुद्धमा ओली पक्ष कार्यकर्ताको प्रदर्शन

२२ माघ, पोखरा । नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको आम हड्तालको विरोधमा ओली समूहका कार्यकर्ताले पोखरामा प्रदर्शन गरेका छन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल ¥याली निकालेर उनीहरूले बन्दको विरोध गरेका हुन् ।

प्रदर्शनका क्रममा ओली पक्ष र बन्दकर्ता प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताबीच भनाभन समेत भएको थियो ।

पृथ्वीनारायण क्याम्पसबाट निस्केको मोटरसाइकल ¥याली सिम्पानी, हरिचोक, मालेपाटन, पृथ्वीचोक, विरौटा, न्युरोड हुँदै पृथ्वीनारायण क्याम्पसमै पुगेर समापन भएको थियो ।

पृथ्वीचोकमा बन्दकर्ता र बन्दको विरूद्ध जुलुस निकालेका ओलीका कार्यकर्ताबीच केहीबेर भनाभन भएको थियो ।

ओली समूहको विरोध जुलुस गएपछि प्रचण्ड–नेपाल पक्षले ओलीविरूद्ध नाराबाजी गरेका थिए भने ओली पक्षले नेपाल खुला छ, केपी ओली जिन्दावाद लगायतका नारा लगाएका थिए ।

प्रहरीले उनीहरू दुबै समूहबीच झडप हुन नदिन दुबै पक्षको बीचमा बसेर सुरक्षा दिएको थियो ।

दुबै पक्षले नाराबाजी गरेपछि केहीबेर कार्यकर्ताहरूबीच भनाभन भएको थियो ।