१५ माघ, जनकपुरधाम । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । आज बिहीबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको हो ।
आर्मीले अब उपाधिका लागि अर्को विभागीय टोली एपीएफसँग खेल्नेछ । एपीएफले पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो ।
आर्मी लगातार चौथो पटक फाइनल पुगेको हो । पहिलो संस्करणमा पुलिससँग उपाधि बाँडेको आर्मी त्यसपछि लगातार दुई पटक फाइनलमा पराजित भएको थियो ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राजेश पुलामीको अर्धशतक मद्दतमा पूरै ५० ओभर खेल्दा १० विकेट गुमाएर २२९ रन बनाएको थियो ।
जवाफमा बागमतीले ४०.२ ओभर खेल्दै सबै विकेट गुमाएर १३५ रन मात्र बनाएको थियो ।