दुबैतिरै क्वारेन्टाइन स्थापना गर्दै देशका नाकामा यात्रु आगमन खोल्ने सहमति

कदर समाचार
१८ चैत, काठमाडौं । कोरोनाको माहामारीले दुबै देशका जनता नाकामा बेबारिसे भएपछि त्यसका लागि नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सीमा नाकामा तत्काल यात्रु आवागमन नखोल्ने सहमति भएको छ । साथै स्वदेश फर्किन दशगजा क्षेत्रमा पुगेका नागरिकहरुलाई दुबै देशले क्वारेन्टाइन स्थलमा राख्ने सहमति जुटेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपालले १० चैतबाट अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमन रोक्ने निर्णय गरेको छ । दुबै मुलुकमा लकडाउन पनि छ । तर, भारतीय बाटो भएर नेपालीहरु सीमा नाकासम्म आउने क्रम रोकिएको छैन । सुरुमा सूचना नपाएर बाटोमा अलपत्र परेका भन्दै भारतीय सुरक्षाकर्मीहरुले नेपालीलाई दशगजा क्षेत्रमा ल्याएर छाडे । सरकारले पनि अलपत्र परेका आफ्नै नागरिक हुन् भनेर आउन दियो ।
नेपाल आउन चाहनेको संख्या नरोकिएपछि कोभिड–१९ रोकथाम सम्बन्धी उच्चस्तरीय समितिले ११ चैतमा अन्तिम पटकका लागि नेपाल आउन दिने निर्णय गर्यो । साथै नेपाली नागरिकहरु ज्हां छन्, त्यही सुरक्षित बस्न आग्रह गर्यो ।
अहिले पनि भारतीय बाटो भएर नेपाली नागरिकहरु दशगजा क्षेत्रमा आउने क्रम नरोकिएपछि नेपालले कूटनीतिक माध्यमबाट भारतसमक्ष असन्तुष्टि जनाएको थियो । भारतले नेपाली नागरिकलाई नेपालतिर जाऊन् भन्ने झैं व्यवहार गरेको भन्दै नेपाली पक्षले कूटनीतिक माध्यममार्फत् असन्तुष्टि जनाएको हो ।
तर, दुई देशबीच भएको छलफलमा सीमा नाकाबाट यात्रु आवागमन नखोल्ने सहमति भएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईकाअनुसार दुबै देशबीच माथिल्लो तह र स्थानीय स्तरमा भएको छलफलमा जो जहाँ छन्, उनीहरुलाई त्यहीं सम्बन्धित देशले व्यवस्थापन गर्ने सहमति भएको छ । उनले भने, ‘भारतीय सीमाभित्र रहेका नेपालीहरुको व्यवस्थापन उहांहरुले गर्ने र नेपालमा रहेका भारतीय नागरिकको व्यवस्थापन हामीले गर्ने सहमति भएको छ । दुबै पक्षबीच कुराकानी भएर त्यही अनुसार कतिपय ठाउंमा क्वारेन्टाइनकै रुपमा सुरु भइसकेको छ ।
दार्चुलाको सीमाक्षेत्र धार्चुला र कैलालीको सीमाक्षेत्रमा हरेका नेपालीहरुलाई भारतीय पक्षले खानेबस्ने व्यवस्था मिलाउने छ भने अन्यत्र पनि यसरी नै व्यवस्थापन गरिनेछ । यस्तै, नेपालमा रोकिएका भारतीय नागरिकको व्यवस्थापनको जिम्मा नेपालले लिएको छ । जुन देशका नागरिक जहां छन्, त्यहीं रहने विश्व स्वास्थ्य संगठनको प्रोटोकल पनि भएकाले भारतले त्यहीअनुसार व्यवहार देखाउने सरकारको विश्वास छ । ‘यदि सिमानाबाट आउन जान खुला छाड्ने हो भने लकडाउन गर्नुको अर्थ हुँदैन’ स्रोतले भन्यो ‘अहिलेको लागि जो जहाँ छन् त्यहिँ सुरक्षित हुने हो ।
मलेसिया, मध्यपूर्व लगायतका देशमा रोजगारीका लागि गएका लाखौं नेपालीहरु त्यहीँ बसिरहेका छन् भने युरोप अमेरिका, अष्ट्रेलिया, जापान लगायतका मुलुकमा पनि ठूलो संख्यामा नेपाली विद्यार्थी छन् । अहिले उनीहरुलाई स्वदेश ल्याउन सम्भव नभएको र व्यवहारिक पनि नहुने सरकारको भनाइ छ । सम्बन्धित देशका दूतावास र नियोगहरुलाई नेपाली समुदायलाई सघाउन र समन्वय गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिइसकेको पनि प्रधानमन्त्री परराष्ट्रमामिला सल्लाहकार भट्टराईले बताएका छन् ।