स्वास्थ्य उपचार नगर्ने अस्पताल र चिकित्सकलाई कारवाही गरिनेछ

कदर समाचार
१८ चैत, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसका कारण विश्व नै समस्यामा रहेको अवस्थामा सामान्य रुघाखोकी समेतको उपचार नगर्ने चिकित्सक तथा अस्पताललाई कारबाही गर्ने बताएका छन् । आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरुसँग आज मंगलबार आयोजना गरिएको बैठकमा मुख्यमन्त्री राउतले बिरामीको उपचार नगर्ने चिकित्सक र अस्पताललाई कारबाही गरिने बताए । ‘सामान्य रुघाखोकीका बिरामीलाई समेत चिकित्सक तथा अस्पतालहरुले हेलचेक्र्याइँ गरिरहेको गुनासो आएको छ’ राउतले प्रजिअहरुलाई निर्देशन दिदैं भने, त्यस्ता अस्पताल र चिकित्सकहरुको सूची तयार गरी प्रदेश सरकार समक्ष पठाउनू ।

राज्यको सुविधा प्रयोग गरेपनि संकटको बेलामा बदमासी गर्ने जो कोहीलाई पनि कारबाही गरिने उनले बताए । उनले प्रजिअहरुलाई निर्देशन दिँदै थपे, “तपाईंहरु सिफारिस गर्नुस् लाइन्सेन्स खारेजी सम्मको कारबाही हुन्छ ।
बैठकमा महामारी नियन्त्रणको लागि आवश्यकता अनुसारको व्यवस्था जिल्ला स्तरमै गर्न सुझाव दिँदै राउतले रकमको अभाव हुन नदिने प्रतिबद्धता जनाए ।
कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका काम बारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिन बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा कुनै ‘इन्तु किन्तु’ नभई जनताको जनधनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिए ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरुले राख्नु भएको जिज्ञासामा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव र उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायले सम्बन्धित विषयहरुमा आ–आफनो धारणा राखेका थिए ।
मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले अहिले विशेष परिस्थितिमा गर्नुपर्ने काम र कानुनी अवस्थाबारे जानकारी गराएका थिए । बैठकमा चारवटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रमुखहरुको सहभागिता थियो ।