राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन

२६ पुस, काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ ।
शाहीको आइतबार राति दैलेखमा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले परिवारलाई उद्धृत गर्दै जानकारी दिए ।

उनको दैलेखमा आइतबार दाहसंस्कार गरिनेछ ।

शाही एक साताअघि आफ्नो जन्मथलो दैलेख गएका थिए । विभिन्न स्वास्थ्य समस्याले ग्रसित शाही पछिल्लो समय सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।

सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टिमबाट खेलेका शाही नेपालका उत्कृष्ट गोलकिपर मध्येमा पर्छन् ।

नेपालले सन् १९८४ मा साग फुटबलमा स्वर्ण जित्दा उनी टिमका सदस्य थिए ।

राष्ट्रिय टिमबाट संन्यासपछि शाहीले एन्फाको विभिन्न पदमा रहेर काम गरेका थिए। त्यसक्रममा उनी सन् १९९५ देखि २००२ सम्म एन्फाको महासचिव पनि बनेका थिए ।