किम जोङ उन सत्तारूढ वर्कर्स पार्टीको महासचिवमा निर्वाचित

एजेन्सी

२७ पुस, काठमाण्डौ । उत्तर कोरियाका नेता किम जोङ उन सत्तारूढ वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् । सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार आइतबार भएको निर्वाचनमा उन सर्वसम्मत रूपमा महासचिव चुनिएका हुन्। वर्कर्स पार्टीको पाँच वर्षमा एक पटक हुने अधिवेशनले उनलाई महासचिव चुनेको हो। उनका कोही प्रतिष्पर्धी थिएनन् ।

यसअघि पार्टीको महासचिव उनका बुवा किम जोङ इल थिए । महासचिव निर्वाचित भएसँगै सन् २०११देखि उत्तर कोरियाको शासन चलाइरहेका उन झन् शक्तिशाली बन्ने भएका छन् ।

’अधिवेशनले सर्वसम्मत रूपमा उनलाई पार्टीको महासचिवमा बढुवा गर्ने कुरालाई पारित गरेको छ,’ केसिएनएले भनेको छ ।

आफ्ना बुवाको मृत्यु भएपछि उन २०११ मा सत्तामा आएका थिए । २०१२ मा उनको पार्टीले इललाई सधैँका लागि महासचिव र उनलाई प्रथम सेक्रेटरी बनाएको थियो । सन् २०१६ मा उनलाई पार्टीको अध्यक्ष भनिएको थियो ।

यसपालिको अधिवेशनले पार्टीको केन्द्रीय कमिटी र पोलिटब्युरोको पनि निर्वाचन गरेको छ ।

उनकी बहिनी किम यो जोङ भने पार्टीको पोलिटब्युरोको सूचीमा छैनन् । यसअघि नै पार्टीको उच्च ओहोदामा रहेकी जोङले दाजुलाई सघाउँदै आएकी थिइन् । उनी पोलिटब्युरोमा नपरेपछि उनको भविष्यबारे प्रश्न उठेको छ ।

यसअघि अधिवेशनको सुरूमा बोल्दै किम जोङ उनले यसअघिको पञ्चवर्षीय योजना सबै क्षेत्रमा असफल भएको स्वीकारेका थिए ।