नेकपा फूटको प्रमुख कारण वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै हो

नेकपा मसालका महामन्त्री, मोहन विक्रम सिंह

१७ पुस काठमाण्डौ । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको असर नेकपालाई मात्रै नभएर सिंगो देशलाई पर्ने टिप्पणी परेका छन् । नेकपालाई फूटबाट बचाउनको लागि आफूहरुले धेरै पहल र जोड दिएको भएपनि उक्त प्रयास सफल हुन नसकेको उनको भनाई छ ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री सिंहले नेकपा फूटको पछाडि राजनीतिक वा संवैधानिक कारण नभएर नेताहरुबीचको अन्तरकलह नै मुख्य कारण रहेको दाबी गरे ।

उनले पछिल्लो समय राजावादीहरु पनि सलबलाएको र उनीहरुको चलखेल सुरु भएकोले गणतन्त्र÷धर्मनिरपेक्षता र संघीयता पक्षधर शक्तिहरुबीच बलियो एकता आवश्यक रहेको औंल्याए । उनले नेकपा फूटको प्रमुख कारण वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भएको पनि दाबी गरे । उनले ओलीले विधि र प्रक्रियालाई आत्मसात् नगरेको गुनासो पोखे । उनले पार्टीभित्र विधि र प्रक्रिया हुने र बहुमत र अल्पमतपनि ओलीले नअपनाएको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको कारण आफ्नो पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको उनले स्पष्ट पारे । उनले सरकारविरुद्ध आन्दोलनसमेत सुरु गरिएको जनाए ।

उनले भने,‘हाम्रो शक्ति सानो छ, तर विचार र नीति भने स्पष्ट छ । सरकारविरुद्ध सुरु गरिएका आन्दोलनमा हाम्रो साथ र समर्थन छ । प्रचण्ड पक्ष, नागरिक समाजले सुरु गरेका आन्दोलनमा हाम्रो समर्थन हुन्छ ।’ उनले ओली सरकार जनताको शक्तिको अघि धेरै दिन नटिक्नेसमेत दाबी गरे । उनले भने, ‘ओली सरकार जनताको शक्तिसामु पराजित हुनेछ । प्रतिगमनकारी शक्ति अवष्य पराजित हुन्छन् ।’ उनले नेकपालाई आफूहरुले कम्युनिष्ट पार्टी नै नमानेको पनि स्पष्ट पारे ।