७ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहले अध्यक्ष केपी शर्मा ओलीलाई वर्खास्त गर्दै रिक्त अध्यक्ष पदमा माधवकुमार नेपाललाई चयन गरेको छ । मङ्गलबार बबरमहलमा बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । नेता नेपाललाई पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्षका लागि गरेको प्रस्ताव केन्द्रीय समिति बैठकले सर्वसम्मत पारित गरेको हो । नेपाल अध्यक्षमा निर्वाचित भएलगत्तै पहिलो अन्तरवार्ता रातोपाटीलाई दिदै नेकपा रुपी जहाज अब दुर्घटना नुहने बताएका छन् । सो अन्तरवार्ता को अंश हामी यहाँ सार्न चाहन्छौ ।
आजको बैठकले तपाईंलाई अध्यक्षमा निर्वाचित गरेको छ । कस्तो अनुभूति गर्नुभएको छ ?
यस्तो बेलामा पार्टी केन्द्रीय कमिटी सदस्यहरुले जुन हिसावले म प्रति विश्वास व्यक्त गर्नुभएको छ । र, पार्टीका स्थायी समिति र सचिवालयका कमरेडहरुले जुन आशा र अपेक्षा मबाट गर्नुभएको छ त्यसबाट म अत्यन्त गम्भीर भएको छु ।
हाम्रो पार्टी अत्यन्तै सङ्गीन मोडमा उभिएको छ, संकटको घडीमा उभिएको छ । यस्तो बेलामा चुनौतिलाई उच्च मनोबलका साथ सबैलाई एकताबद्ध बनाएर नै कम्युनिस्ट पार्टीलाई आन्दोलनलाई सुदृढ बनाउने विश्वासका साथ यसलाई पुरा गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।
पार्टीको एउटा हिस्सा चोेइटिएर गएको छ । यस्तो बेलामा नेकपा एकढिक्का छ भनेर आम कार्यकर्तालाई कसरी विश्वास दिलाउनुहुन्छ ?
कम्युनिस्ट आन्दोलनको मुलधार भनेको यही नेकपा नै हो । अरु साथिहरु जो भ्रम र अन्यौलमा हुनुहुन्छ उहाँहरु सबैलाई के आश्वस्त पार्न चाहान्छु भने कि सवैलाई न्यायोचित व्यवहार गरिने छ । न्यायोचित मूल्याङ्कन गरिने छ । योग्यता र क्षमताअनुसारको योगदाननुसार जिम्मेवारी प्रदान गरिने छ । कुनै भेदभाव गरिने छैन । त्यसो हुनाले मनमा अरु कुनै किसिमको आशंका नराखेर एकताबद्ध भएर जान आग्रह गर्दछु । जनताले यो पार्टीमा धेरै ठुलो आशा र भरोसा गरेका पनि छन् । त्यसैले यो पार्टीमा आजसम्म रहेका कमी–कमजोरीहरुलाई खोज्नुपर्ने, चित्रित गर्नुपर्ने र हटाउनुपर्ने आवश्यक्ता छ । कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनुपर्ने आवश्यक्ता छ ।
दुईवटा पाइलट बन्दा नेकपा यो अवस्थामा आयो । फेरि पनि दुईवटै पाइलट राख्नुभएको छ । यस्तो अवस्थामा जहाज सही ढङ्गले उड्छ त अब ?
पुरानो अभ्यासको पालना गर्ने कुरामा कहाँ समस्या रहे ? अब नयाँ अभ्यास गर्दा कसरी यसलाई सफल बनाउन सकिन्छ भन्ने बारेमा पहिले भएका कमी–कमजोरीहरुको हामीले खोजी र पहिचान गर्नुपर्दछ । र ति कमजोरी नदोहोरिउन भनेर सुनिश्चतता गर्नुपर्दछ ।
त्यसो भएकाले पार्टी एकताको मूल आधार भनेको पार्टीको नीति नै हो, विचार नै हो । कस्तो पार्टी बनाउने भन्ने हाम्रो धारणा नै हो । यस सन्दर्भमा पार्टीको विधानले नै सवै कुरा प्रस्ट पारेको छ । कतिपय कुरा प्रष्ट पार्नुपर्छ भने नियमावलीहरुलाई प्रष्ट पारेर अघि बढ्नुपर्छ । मलाई लाग्दैन कुनैपनि समस्याहरुको समाधान हामीले खोज्न नसकौँ । पक्कै समाधान खोज्न सकिन्छ । विश्वासको नयाँ वातावरण तयार गर्न सकिन्छ । विश्वासको वातावरण बन्न सक्यो र विधिमा बाँधिन सक्यौँ र उद्देश्यमा एक भएर जान सक्यौँ भने हाम्रो यात्रा हाम्रो जहाज सहज ढङ्गले अघि बढ्नेछ ।
संसद भंगको बिरुद्धमा तपाईंहरुले ल्याउने संघर्षका कार्यक्रम के हुनसक्छन् ?
त्यसका निम्ति देशव्यापी रुपमा जनपरिचालन नै हो । संवैधानिक प्रावधानका विरुद्धमा चालिएको कदमका विरुद्धमा, लोकतन्त्रमाथि आघात पुर्याउने कदमका विरुद्धमा र अहिले जुन ढंगले प्रधानमन्त्रीबाट चालिएको एकाधिकारवादी, सर्वसत्तावादी, संविधान र लोकतन्त्रविरोधी कदम त्यसका निम्ती आम जनतालाई सचेत बनाउने हो । त्यसो गरेर सबै निकायको ध्यानाकर्षित गर्दै संसदको पुनर्स्थापना गरेर त्यसले जनताको मतको सम्मान गरेर जनताको चाहाना पुरा गर्ने गरी त्यो संसदले आफ्नो भूमिका निर्वाह गर्ने अवस्थामा पुर्याउने हो ।
प्रधानमन्त्रीलाई अध्यक्षबाट पदमुक्त त गर्नुभयो । के अझैपनि उहाँ सुध्रेर आउनुहुन्छ भन्ने आशा
छ ?
हामीले सबै ढोका बन्द गर्नुहुँदैन । यसको अर्थ हामीमा उदारता देखिन्छ, देखाउछौँ । उदारता देखिनु राम्रो हो । हाम्रो पूर्वाग्रह देखिँदैन । कुनै व्यक्तिको विरुद्धमा हामी लक्षित छैनौँ भन्ने यसले देखाउँछ । हामी प्रवृतिका विरुद्ध जुधिरहेका छौँ । हाम्रो लडाईं पनि प्रवृतिका विरुद्धमा नै हो । प्रवृतिलाई बोक्ने पात्रहरु हुन्छन्, त्यसैले ती पात्रलाई होइन प्रवृतिलाई सिध्याउन खोजेका हौँ ।