७ मंसिर, काठमाडौं । केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ ।
मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेको एक केन्द्रीय सदस्यले बताएका छन् ।
बैठकले ओलीलाई अध्यक्षबाट हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रथम अध्यक्ष बनाएको छ । बैठकमा उपस्थित हस्ताक्षरका आधारमा झण्डै दुई तिहाइ सदस्य प्रचण्ड–नेपाल पक्षमा देखिएका छन् ।
बैठकमा ३ सय १० जना सहभागी रहेको केन्द्रीय सदस्य हेमराज भण्डारीले जानकारी दिए । नेकपामा यसअघि ४ सय ४७ जना केन्द्रीय सदस्य छन् ।
केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटिले ओलीमाथि गर्ने कारवाहीसहितका प्रस्ताव तयार पारेको थियो । सोही प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेर छलफल गरिएको थियो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्नेदेखि विभिन्न ७ वटा एजेन्डा प्रस्तुत गरिएको छ ।