ओलीले गल्ती भयो, मैले गल्ती गरेँ, म पश्चाताप गरेर आउन तयार छु भनेर आउनुभयो भने म अहिले पनि स्वागत गर्न तयार छु

नेकपा अध्यक्ष, प्रचण्ड

७ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही स्वरुप अध्यक्ष पदबाट हटाइएको बताएका छन् । केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि पुस ५ गतेकै पार्टी स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । सोही प्रस्तावमाथिको प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइएको घोषणा गरिएको हो ।

आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओलीले राष्ट्र, जनता, पार्टीलाई घात भयो भनेर आउनुभयो भने हामी उहाँलाई स्वागत गर्छौं । गल्ती भयो, मैले गल्ती गरेँ, म पश्चाताप गरेर आउन तयार छु भनेर आउनुभयो भने म अहिले पनि स्वागत गर्न तयार छु ।

प्रचण्डले मन्त्रिपरिषदको बैठकमार्फत प्रतिनिधिसभा भङ्ग गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नासाथ ओली नेतृत्वको सरकार भङ्ग भएको पनि प्रस्ट पारे ।

उनले प्रधानमन्त्रीलाई संसद भंग गर्ने कुनै अधिकार संविधानले नदिएको दावीसमेत गरे । ‘संविधानविद्ले पनि त्यो कदम असंवैधानिक र अलोकतान्त्रिक नै छ भनेका छन्,’ उनले भने, ‘विघटन भएको सरकार हो, संसद होइन भनेर हामी सर्वोच्च अदालतमा पनि जान्छौँ ।

उनले न्यायालयप्रति आफूहरुले भरोसा गरेको र संविधानको मर्मलाई न्यायालयले आत्मसात् गरेर न्याय दिने विश्वास गरेको सुनाए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ढाँट–छल’को राजनीति गरेको आरोप लगाएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संवैधानिक परिषद बैठकको सन्दर्भमा ओलीले आफूसहित पार्टीपंक्तिलाई ढाँटेको आरोप लगाएका हुन् ।

ओलीबाट ढाँट–छलको राजनीति भयो

संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउनु अघि पार्टीसँग कुनै छलफल नै नगरेका ओलीले परिषदको बैठक बसिसकेको अवस्थामा समेत आफूहरुले राखेको जिज्ञासामा ‘कुनै निर्णय नभएको’ जवाफ दिएको प्रचण्डले जिकिर गरे ।

तर संवैधानिक परिषदको बैठकले संवैधानिक अंगमा नियुक्तिको सिफारिस गरेको कुरा पछिआएर सार्वजनिक भएको उनले बताए ।

त्यसअघि ओलीसँगको छलफलमा अध्यादेश फिर्ता लिने र आफूहरुबाट संसदको विशेष अधिवेशनका लागि दिएको समावेदन फिर्ता लिने सहमति भएको पनि उनले प्रस्ट पारे । यसबीचमै संवैधानिक परिषदको बैठक बसेको खबर आएको र आफूहरुले ओलीसँग जिज्ञासा राख्दा ‘नियुक्ति भएका छैन्न्’ भन्ने जवाफ पाएको प्रचण्डको भनाइ थियो ।

ओलीको कार्यशैली कम्युनिष्टसँग विल्कुल मिल्दैन

प्रचण्डले केपी शर्मा ओलीको कार्यशैली कम्युनिष्टसँग विल्कुल नमिल्ने दावी गरेका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले ओलीमा कम्युनिस्टको व्यवहार र कार्यशैली नै नरहेको बताएका हुन् । ‘उहाँमा धैर्यता छैन । बैठक बस्न पार्टीको अध्यक्षले अर्को अध्यक्षसँग अनुनय गर्नुपर्ने अवस्था एउटा कम्युनिष्टमा हुन सक्दैन,’ उनले भने ।

ओलीले पार्टीमा बहसलाई निषेध गरेको आरोप पनि प्रचण्डले लगाए । ‘बहस गर्न खोज्दा बहस गर्न पाइँदैन रे १,’ ‘अस्तिको सचिवालय बैठकमा उहाँ एक घण्टा बोल्नुभयो तर हामीले राखेको प्रस्तावलाई आरोपपत्र रे १ बोल्न पाइँदैन भन्नुभयो ।

सचिवालयका सबै सदस्यहरु, यहाँसम्म कि, ओलीकै निकट मानिएका ईश्वर पोखरेलले समेत ‘बोल्न त सबैले पाइन्छ’ भनेपछि बल्ल आफूले बोल्न पाएको प्रचण्डले खुलासा गरे । उनले भने, ‘प्रवृत्ति हेर्नुस् कस्तो छ उहाँको १’ आफूले पार्टी एकतालाई बचाउन धेरै त्याग गरेको प्रचण्डको दावी थियो । आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने कुरालाई छाडेको, सरकारमा जाने कुरालाई आफूले प्राथमिकता नदिइ पार्टीको भूमिकालाई नै रोजेको उल्लेख गर्दै प्रचण्डले त्यसका बाबजुद सचिवालय बैठकमा आफ्नो कुर्सी हटाइएको, अपमान गर्न खोजिएको प्रस्ट पारेका थिए ।