ओलीलाई पूरै कार्यकाल प्रधानमन्त्री र प्रचण्डलाई नेकपाको एकल अध्यक्ष बनाउनुपर्ने गजुरेलको प्रस्ताव छ

स्थायी कमिटी सदस्य, हरिबोल गजुरेल

गर्ने सम्बन्धमा सचेत र संवेदनशील हुन साइबर ब्यूरो को अनुरोध २६ मंसिर, काठमाडौंं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठक पर्सि २८ गते आइतबार पुनः बस्दैछ । बैठकमा केपी ओली पक्ष र प्रचण्ड-माधव पक्षवीच अल्पमत-बहुमतको खेल जारी नै छ । तर, केही स्थायी कमिटी सदस्यचाहिँ ओली र प्रचण्डको भन्दा अलग्लै धार बनाउने प्रयासमा छन् ।

आफूलाई ओली वा प्रचण्ड-माधवको गुटमा सहभागी नगराई स्वतन्त्र भूमिकामा राख्न चाहने स्थायी कमिटीका सदस्यमध्ये एक हुन् हरिबोल गजुरेल । पूर्वमाओवादी नेता एवं सांसद गजुरेल प्रचण्ड वा ओली कसैको पनि गुटमा नरहेको
बताउँछन् ।

जारी स्थायी कमिटी बैठकले कसको पक्षमा निर्णय गर्ला ? ओलीको पक्षमा कि प्रचण्डको ? यो बैठकले ओलीलाई प्रधानमन्त्री वा अध्यक्षबाट हटाउला कि कायमै राख्ला ? बैठकले प्रचण्डको प्रस्तावलाई फिर्ता गराउला कि नगराउला ? पार्टीभित्र चर्किएको विवादको समाधान स्थायी कमिटीले कसरी खोज्ला ? आफूलाई गुट निरपेक्ष बताउने गजुरेलसँग अनलाइनखबरले यिनै प्रश्नको सेरोफेरोमा केन्द्रित रहेर कुराकानी हामी ययाँ उतार्न चाहन्छौं ।

स्थायी कमिटीमा स्वतन्त्र रहेको दाबी गर्ने गजुरेलले नेकपाको समस्या समाधान गर्ने सूत्र पनि बेग्लैखालको प्रस्तुत गरेका छन् । ओलीलाई पूरै कार्यकाल प्रधानमन्त्री बन्न दिनुपर्ने र आगामी निर्वाचनसम्मै महाधिवेशनमा नगई प्रचण्डलाई नेकपाको एकल अध्यक्ष बनाउनुपर्ने गजुरेलको प्रस्ताव छ । उनी भन्छन्, ‘भदौ २६ मै फर्किएर मात्रै हुँदैन । अबको निर्वाचनसम्म महाधिवेशन हुँदैन । त्यसैले अबको विकल्प भनेको एउटा प्रधानमन्त्री र अर्को अध्यक्ष हुने ।’

नेकपाको स्थायी कमिटी बैठक सुरु भएपछि तपाईंहरुमा एक किसिमको उत्साह देखिएको छ । यस्तो उत्साह बैठक सुरु हुनुअघिसम्म थिएन । के अदृश्यमा कुनै गोप्य सहमति भएको हो ?

प्रथमतः स्थायी कमिटी बैठकमा उहाँ (केपी ओली) लाई विश्वास छ र यसले विवेकपूर्ण निर्णय लिन्छ भन्ने सन्देशसहितको पत्र पठाउनुभएको छ । दोस्रो, अध्यक्ष पनि मेरो अन्तिम हो र प्रधानमन्त्री पनि अब हुन्न भन्नुभयो । प्रचण्ड (पुष्पकमल दाहाल प्रचण्ड) ले पनि म पार्टी र एजेण्डा (अहिलेको व्यवस्था) बचाउन आवश्यक परे पद त्याग गर्न पनि तयार छु
भन्नुभयो । यसलाई सकारात्मक छलफल शुरु भयो भनेर हामीले बुझ्यौं ।

स्थायी कमिटी (भदौ २६ ) ले गरेको निर्णय सचिवालयले कार्यान्वयन गर्न सकेन । दुई अध्यक्षले त्यो निर्णय कार्यान्वयन गर्नुपथ्र्यो । विवाद फेरि फर्केर स्थायी कमिटीमै आयो । स्थायी कमिटीको बैठकप्रति अध्यक्षहरुको जुन विश्वास छ, त्यसैले स्थायी कमिटी अलि उत्साहित भयो ।

तर, फेरि पनि उहाँहरु (दुई अध्यक्ष) बाटै बदमासी भएको भन्ने त स्थायी कमिटीलाई थाहा छ नि ? कसरी हल हुन्छ त विवाद ?

विभिन्न समयमा विभिन्न प्रकृतिका त्रुटिहरु त भए, त्यो एउटा पाटो हो । तर, अहिले दुई अध्यक्षले स्थायी कमिटीप्रति गरेको विश्वास र यसले खेल्न सक्ने भूमिकालाई लिएर उत्साहित भएको हो ।

नेकपाको सचिवालयमा जस्तो समीकरण र गुट छ । स्थायी कमिटी सदस्यहरु पनि कुनै नेताविशेषका समर्थक छन् । स्थायी कमिटीले विवाद हल गर्छ भन्ने के आधार छ ?

स्थायी कमिटीका सदस्यहरुले अलि विवेकपूर्ण ढंगले सोच्छन् । गुटगत लिगेसी त अलिअलि भइहाल्छ नि । विभिन्न पृष्ठभूमि छन्, विभिन्न नेताहरुसँग जोडिएका छन् । विभिन्न बाध्यता र मनोविज्ञान छ । तर, एजेण्डामाथिको छलफल गर्ने क्रममा भने स्थायी कमिटी सदस्यहरुको मूल स्प्रिड अलि उचाइमै छ ।

तर, यो पनि टिप्पणी हुँदैछ कि यसपटक पनि छलफल हुन्छ, कार्यदल बन्छ । त्यो कार्यदलले अध्यक्षहरुको भावनाअनुसार, रिपोर्ट बुझाउँछ र विवाद मिल्छ । तर, विवाद फेरि सुरु भइहाल्छ‘

अब कसरी विवाद हल हुन्छ भन्ने कुरा अलग कुरा हो । कार्यदल बन्यो र त्यसको सुझावअनुसार भएको निर्णयले पनि विवाद हल भएन । तर, मलाई लाग्छ( नेताहरुको विश्वासले समस्या समाधान हुन्छ । अब उहाँहरु सहमत हुन सक्नुभएन भने स्थायी कमिटीका सदस्यहरुले समाधान निकाल्छौं । तर, मुख्य कुरा स्थायी कमिटी सदस्यहरुले विवादको निकास निकाल्छौं भन्ने विश्वास गर्ने वातावरणचाहिँ बन्यो । तपाईंले सन्तुलित ढंगले बैठक शुरु गर्नुभयो भनेर हामीले प्रचण्डलाई बधाइ नै दिऔं । प्रधानमन्त्रीले पनि पत्र पठाएर बैठकलाई मान्यता दिनुभयो ।

स्थायी कमिटीका सदस्यहरु उत्साहित नै हुनुहुन्छ, तर, पार्टीको अध्यक्ष नै बैठकमा आउँदैनन् र पत्र लेखेर विश्वास गर्छु भन्दा यत्रो उत्साहित हुनुपर्छ र ?

कहिलेकाँही मै जान्न बैठकमा । अरु साथीहरु आउनुहुन्न । यदाकदा आफ्नो अडान लिन त्यस्तो (अनुपस्थित) हुनु राम्रै कुरा हो । विरोध र असहमतिको विभिन्न तरिका हुन्छ । तर, सधैं अनुपस्थित हुनु राम्रो हुँदैन । पटक-पटक अनुपस्थित हुँदा प्रवृत्ति नै यस्तो हो कि भन्ने हुन्छ । प्रधानमन्त्रीको अलि बढी त्यस्तो व्यवहार छ । कहिलेकाँही त त्यस्तो हुन्छ ।

पूर्वनिर्धारित बैठकमा तपाईंहरु सबै जानुभयो । उहाँ (ओली) मात्र आउनुभएन । अनि, मान्यता दिनुभयो भन्नेमै खुशी हुनुपर्ने अवस्थामा पुग्नुभएको हो ?

मान्यता दिएकोमा उत्साहित भनेको होइन । पत्रमा मेरो अन्तिम कार्यकाल हो र तपाईंहरुको विवेकपूर्ण निर्णयप्रति विश्वास छ भन्नुभयो नि त ।

तर, बैठकपछि पनि उहाँ (ओली) निकट नेताहरुले बैठकको निर्णय मान्नैपर्छ भन्ने टिप्पणी पनि गरे नि ?

यो व्यक्ति-व्यक्तितिर नजाऔं । व्यक्तिले विभिन्न ठाउँमा विभिन्न टीकाटिप्पणी गर्छन् । तर, बैठकमा लिखितरुपमा आधिकारिक तरिकाले दिएको कुरा त अर्थपूर्ण हुन्छ । हुन त उहाँ (ओली) ले दुबै पद छोड्छु भनेर भनिरहेकै कुरा हो । तर, लिखित थिएन । अनि, प्रचण्डले पनि जवाफ दिनुभयो( एजेण्डा (अहिलेको व्यवस्था) र पार्टी प्यारो छ, आवश्यक परेमा पद त्याग्न तयार छु । यसको अर्थ दुवै अध्यक्षको विश्वास स्थायी कमिटीप्रति देखियो । स्थायी कमिटी निकास दिन सक्षम छ भन्ने नै हो ।

दुई अध्यक्ष मिल्दा सबै कुरा मिल्यो, पार्टी चल्यो । तर, कात्तिक २३ यता त एकले अर्कालाई लगाउनुपर्नेसम्मका सबै आरोप लगाउनुभएको छ । पद छोड्ने कुरा पनि एकअर्कालाई अप्ठ्यारो पार्न ल्याएको हो भन्ने लाग्दैन ?

विवाद र झगडा भएपछि एउटा क्लाइमेक्समा पुग्छ । प्रस्ताव वा आरोप जे भन्नुहोस्, त्यो भनेको संघर्षको उत्कर्ष हो । कहिलेकाँही यस्तो हुन्छ । उत्कर्षमा पुगेपछि समाधान जाने बाटो पनि हुन्छ । नेकपाको विवाद उत्कर्षमा पुग्यो, अब निकास बाटो निस्कन्छ । एकअर्कामा संवादहीनताको स्थिति र बैठक अस्वीकार गर्ने कुरा भइरहेका बेला एकले अर्कालाई निषेध गर्न नसकेको परिस्थिति बन्यो नि त । निषेध गर्न नसकेपछि मिल्नुको विकल्प रहेन । मिल्नुपर्छ भन्ने रियलाइजेसन भयो ।

केपी ओलीलाई प्रचण्डसँग मिल्नुपर्छ भन्ने रियलाइजेसन भएको हो ?

लेखेर दिनु भनेको रियलाइजेसन पनि हो नि त । निषेध गर्न सकिएन भन्ने नै हो । मान्दिनँ, टेर्दिनँ, बैठकमै जान्न भन्ने थियो । आ-आफ्नो बाटो लागौं भन्ने स्थितिबाट फेरि संवादको अवस्था आयो र स्थायी कमिटीको बैठकमा आएर विचार
राख्नुभयो । यसले फेरि समाधानको प्रक्रिया शुरु भयो । समाधान भयो भनेको छैन, स्टेप शुरु भयो । यसलाई सकारात्मक मान्नुपर्छ ।

तपाईंहरु उत्साहित हुनुभयो । तर, मंसिर २४ को ओली(प्रचण्ड भेटवार्तामा प्रधानमन्त्रीले प्रचण्डलाई माधव नेपाल धोकेबाज हो, हामी मिलौं भन्नुभयो नि ?

त्यो त मिडियाको कुरा हो । यसमा मलाई चित्त बुझेको छैन । दुईजना बस्नुहुन्छ । पाँचजना भए पो कसले लग्यो भन्नु । त्यो पनि मिडियामा आउँछ । यसले वातावरण बिगार्छ ।

मिडियामा आउने कुरा त प्राविधिक विषय भयो । कन्टेन्टचाहिँ दुई अध्यक्ष मिल्नु नै समाधान हो त ?

सरकार र पार्टी सञ्चालनमा निश्चित विधि, नीति र नयाँ मान्यता अघि नसारेसम्म समस्या हल हुन्न । नहुने रहेछ । मान्यता विकास गर्न सकियो भने नयाँ आधारमा एकता गर्नुप¥यो । भदौ २६ मै फर्कौं भनेर त हुँदैन । त्यो पछाडि परिसक्यो, अब नयाँ ठाउँमा गएर सहमति खोज्नुप¥यो । भदौ २६ मै फर्किएर मात्रै हुँदैन । सरकार र पार्टी कसरी चल्छ ? दुई अध्यक्षको भूमिका के हुन्छ ? एउटै अध्यक्ष रहने कि ?

मलाई लाग्ने कुरा-एउटा अध्यक्ष, एउटा प्रधानमन्त्री । समाधान यही हो । अर्को बाटो नबन्दासम्म कसैले पनि छोड्दैन । मलाई गलहत्याएर निकाल्दैछन् भन्ने बुझाइले राम्रो हुँदैन । एउटा विश्वासको वातावरण बन्यो भने त्यो हुन सक्छ । हामीले भूमिका खेल्नुपर्ने त्यही हो । एउटा मान्छेको दुईवटा टाउको भएर नहुने रहेछ । त्यो भएन ।

अनि, अबको निर्वाचन (स्थानीय र संघ तथा प्रदेशको निर्वाचन) सम्म महाधिवेशन हुँदैन । त्यसैले अबको विकल्प भनेको एउटा प्रधानमन्त्री र अर्को अध्यक्ष हुने । अध्यक्षले महाधिवेशनको तयारी गर्ने र प्रधानमन्त्रीले पाँच वर्ष देशमा सरकार चल्यो भन्ने सन्देश दिनुपर्छ । त्यो दिशातिर जाने सम्भावना छैन भन्दिनँ । छलफल र बहस गर्दै जाँदा, विश्वासको वातावरण बन्दै जाँदा त्यहाँ पुग्न सकिन्छ । पुग्नुपर्छ । हाम्रो सफलता त्यही नै हो ।

भदौ २६ को सहमतिले नि पार्टीलाई निकास दिएन । दुई अध्यक्ष बीच कुरा मिलेन । अबको निकास के होला जस्तो लाग्छ ?

समीकरण शत्रुतापूर्ण हुन्छ । खुमलटार जाँदा मैले दसौंचोटि प्रचण्डलाई भनेको छु( कमरेड, अरु सबै गर्नुहोस्, समीकरण नबनाउनुहोस् है भनेको छु । समीकरणले मान्छेलाई हातखुट्टा बाँधिन्छ र अन्तरसंघर्ष शत्रुतापूर्ण हुन्छ । यसले पार्टीलाई विभाजनतर्फ लान्छ । समीकरणमा एउटाले अर्कोलाई सिध्याउने कुरा हुन्छ, अर्कोले पनि त्यही गर्छ । आरोप-प्रत्यारोपमा जान्छ, संघर्ष शत्रुतामा बदलिन्छ ।

मैले जे भनेको थिएँ, आखिर त्यही त भइरहेको छ । कहिले प्रचण्डले समीकरण (सचिवालयमा) बनाउनुभयो, कहिले प्रधानमन्त्रीले बनाउनुभयो । एकले अर्कालाई घेराबन्दी गर्न समीकरण बनाउँदा पार्टीलाई अस्वस्थ्य बनाउँछ । समीकरणले खुट्टा बाँधिदिन्छ । गुटहरु हामीसँग छ । त्यही रहिरहन्छ, केही समयसम्म । त्यसलाई निवारण गर्ने विधि पनि खोजौंला । तर, समीकरणचाहिँ बन्न हुन्न ।

तपाईंले ओली र प्रचण्डले समीकरण गर्नु हुन्न भन्नु भयो । तर, माधव नेपाललाई पेल्नेगरी दुई अध्यक्षको समीकरण थिएन र ?

माधव नेपाललाई यताउता गर्ने कुरामा प्रचण्डको भूमिका हैन है । त्यो त प्रधानमन्त्रीले गर्नुभएको हो । दुई अध्यक्षले सहमति गर्ने कुरालाई समीकरण भन्नुभएन । अध्यक्षहरु भनेको त आधिकारिक मान्छे हो नि । त्यसलाई समीकरण भन्नु भएन नि । दुई अध्यक्षको सहमतिलाई समीकरण भन्ने हो भने संस्था कुन हो त ? समीकरणले हातखुट्टा बाँध्छ । अध्यक्षले त ड्याङ ड्याङ निर्णय गर्नुप¥यो नि । मानौं( छलफल शुरु भयो । समीकरणमा बाँधिएपछि त प्रस्तावमै समस्या पर्छ । नयाँ प्रस्ताव आउँदा पख्नुहोस् है म समीकरणसँग छलफल गरेर आउँछु भन्नु भएन । अनि, टालटुल कुरा गरेर उठ्नु परेन ?

हिजो त ओली र प्रचण्डले ड्याङड्याङ निर्णय गरेको हो नि । समीकरणले त्यो हुन छाड्यो । समीकरणबाट कहिले समाधान हुँदैन । आ-आफ्नो समीकरणमा छलफल त गर्नुप¥यो । अध्यक्षले सबैको सुझाव सुन्नुपर्छ, तर निर्णय गर्ने अधिकार आफूमा राख्नुप¥यो नि ।

अहिलेको समीकरणले प्रचण्डको हातखुट्टा बाँधिएको हो ?

समीकरण कहिले कसले बनायो, को बहुमतमा र को अल्पमत प¥यो भन्ने दोस्रो कुरा हो । जस्तो( अहिले ठूला नेताहरु त प्रचण्ड कमरेडसँग हुनुहुन्छ । दुई अध्यक्ष र दुई प्रधानमन्त्री भइसकेको मान्छे हुनुहुन्छ । तर, अर्कोतिर प्रधानमन्त्रीले समीकरण बनाए पनि जुनियर मान्छेहरु हुनुहुन्छ नि त ।

तर पूर्वएमाले एक ठाउँमा उभियौं र पूर्वमाओवादीलाई ठेगान लगाऔं भन्ने प्रस्ताव पनि प्रधानमन्त्री निकट नेताहरुबाटै सुनिँदैछ नि ?

पूर्वएमाले र पूर्वमाओवादी भन्ने कुरा पछाडि र्फकने कुरा हो । पार्टी एकता भइसकेपछि पृष्ठभूमितिर जानै हुन्न । कहिलेकाँही त्यस्तो अभिव्यक्ति आउँदा हामीलाई दुःख लाग्छ ।

दुई अध्यक्ष मिले कम्युनिष्ट आन्दोलन ठीक हुने, क्रान्ति अगाडि बढ्ने, जनमतको सम्मान हुने र देश अघि बढ्ने, तर नमिले सवै बिग्रने भन्ने तर्कमा तपाईं पनि सहमत ?

अहिलेको स्थिति त्यस्तै छ । महाधिवेशनसम्म पुग्दा कस्तो वातावरण बन्छ, त्यो कुरा अलग हो । अहिले यस्तै छ । अर्को विकल्प पनि त छैन ।

तपाईंले समीकरण बनाउने कुरामा आपत्ति जनाउनुभयो । तर, प्रचण्डले त प्रधानमन्त्रीले पार्टी निर्णय नै मान्नुभएन । त्यसैले समीकरण बनाएको तर्क गरिरहनुभएको छ नि ?

मैले भन्ने गरेको छु( प्रचण्ड कमरेड, तपाइँ सही ठाउँमा एक्लै उभिनु न लाखौं मान्छेले साथ दिन्छन् । धेरै मान्छे, यहाँ, उहाँ किन ? तपाईं किन डराएको ? प्रचण्डको आफैं व्यक्तित्व र इतिहास बनेको छ । डराउनुपर्ने कुरा के छ ? ठीक ठाउँमा उभिएर अपिल गर्नुहोस्, लाखौं मान्छे सहयोग गर्न आउँछन् । तपाईं आफैं यति कमजोर सोच्ने ? यत्रो परिवर्तन, यत्रो जनयुद्ध गरेको मान्छे यति कमजोर ठान्ने ? एक्लै उभिँदा सही ठाउँमा उभिनुपर्छ । हरिबोलले साथ दिन्छन्, लाखौं मान्छे आउँछन् । तर, जनताको नजरमा उहाँले सही ठाउँमा उभिनु प¥यो नि ।

प्रचण्डलाई तपाईंले धेरै राम्रोसँग चिन्नुहुन्छ । उहाँ कुन ठाउँमा डराउनुभएको छ ?

तपाईंहरुले बुझ्नुहोस्, प्रचण्ड र ओली कमरेड सही ठाउँमा उभिदिएको भए यो हालत हुन्थ्यो ? यस्तो गाईजात्रा हुन्थ्यो ? अहिले जग हसाँउने काम भएको छ कि छैन ? दुई तिहाइ नजिकको, चारवटा प्रधानमन्त्री भएको पार्टी र अहिले पनि कार्यकारी भएको पार्टी अनुसार, के ग¥यौं त ?

यो, ऊ, छोडौं न । अहिले त परिवर्तन नै धरापमा पर्ने चिन्ता भइरहेको छ । हामी जति कमजोरी गर्दै जान्छौं, अर्कोको मनोवल त उति नै बढ्दै गएको छ नि । दबिएका शक्तिको मनोवल बढ्दै गएको छ, अनि असन्तुष्ट मानिसको समर्थन त्यहीँ पुग्दै गएको छ । आक्रोश र आवेग त्यहीँ व्यक्त भइरहेको छ । आक्रोशमा मान्छेको विवेक हराउँछ । यसलाई उहाँहरु (ओली र प्रचण्ड)ले बुझ्नुपर्छ र सुधार्नुपर्छ । उपलब्धी जति भयो, त्यो उहाँहरुकै कारण हो । तर, जति समस्या आएको छ, त्यो पनि उहाँहरु (ओली र प्रचण्ड) कै कारण हो ।

नेतृत्वलाई अब तपाईंहरु सल्लाहकार हुनुहोस्, सम्मान गर्छौं, तर, पार्टीको नेतृत्व हामी गर्छौं भन्ने बेला भएन र ?

अहिले रातारात त्यो हुँदैन । तपाईंले भनेको कुरा समय भएको भए हुन्थ्यो । तर, अहिले हामीसँग समय छैन । हामीसँग त दुई वर्ष मात्रै (स्थानीय र संसदीय निर्वाचनको) समय बाँकी छ । यो छोटो समयमा थोरै सुधार गर्नेबारे सोचिरहेका छौं । हामी एकताका पक्षधरहरुले एकता गर्नुपर्छ भनेर मात्रै पुग्दैन । के आधारमा एकता अगाडि बढाउने ? हामीले ठोस आधार तयार पार्नुपर्छ । भदौ २६ पनि पछाडि परिहाल्यो । त्यसको आधार खोजिरहेका छौं, छलफल चलिरहेको छ । छलफलका क्रममा नयाँ चिज आउँछ, हेर्दै जाऔं ।

भनेको, केपी ओली पाँच वर्ष प्रधानमन्त्री, एकल अध्यक्ष प्रचण्ड ?

छलफलका क्रममा छौं । अहिले नभनौं । त्यसका लागि विश्वासको वातावरण बनाउनुपर्छ । त्यो अगाडि एकताको आधार खडा गर्नु प¥यो नि ?

तर, यो प्रस्ताव ल्याउने कसले ? ओली(प्रचण्ड(माधव मिल्नुपर्छ भनेर बाहिर भन्नेहरु पनि कुनै न कुनै गुटमा छन् ।

स्थायी कमिटी सदस्यहरु त्यस्तो रबरस्ट्याम्प जस्तो पनि मलाई लाग्दैन । स्थायी कमिटी अलि फरकखालको छ । अस्ति (असार १० देखि भदौ २६ सम्म चलेको) स्थायी कमिटीमा बोल्दा पनि सबैको कुरा सुनिहाल्नुभयो । स्थायी कमिटीका नेताहरु सापेक्षित रुपमा अलि स्वतन्त्र धार समात्छन् । कसैले भन्नासाथ भइहाल्ने देख्दिनँ त्यहाँ । स्थायी कमिटीको बैठकमा समाधानका उपायहरु हामीले दिनुपर्छ ।

सम्भावित एकताको आधार के हो ?

केही सोचेको छु । यहाँ भन्दिनँ । मैले बैठकमै भन्नुपर्छ । केही साथीहरुलाई भनेको छु( भदौ २६ ले पुग्दैन । त्योभन्दा अगाडि बढ्ने विकल्पबारे कुराकानी भइरहेको छ । एउटा अध्यक्ष र एउटा प्रधानमन्त्री भन्ने प्रस्ताव आजको भोलि नहुन सक्छ । तपाईं(हामीलाई थाहा छ, चुनवाङ बैठकमा कस्तो अवस्था थियो भन्नेबारेमा । प्रचण्ड, बाबुराम, बादल रुवाबासी र अँगालो हालाहाल ! त्यसपछि एक ठाउँमा उभिएको होइन ? अन्तरसंघर्ष हो नि । बाबुराम कारवाहीमा हुनुहुन्थ्यो । कुन परिवेशमा थियो ? तर, त्यही चुनवाङको बैठकले नयाँ परिस्थिति बन्यो नि । त्यो यहाँ हुन सक्दैन ? तर, हामीले त्यो (हाई जम्पिङ ) खालको वातावरण बनाउन सक्नुपर्छ । अहिले स्थायी कमिटीको अग्नि परीक्षा आएको छ । सचिवालय आफ्नो भूमिकामा चुक्यो, चुक्यो । तर, स्थायी कमिटीले एउटा निकास दिन्छ ।

चुनवाङ बैठकमा त एकअर्कामा विलीन हुने परिस्थिति नै बनेको हो नि (हामीले बुझेअनुसार) । अहिले त्यो तहको विश्वास चाहिँ‘

हो, प्रधानमन्त्रीले प्रचण्डको प्रस्ताव खारेज नभएसम्म बैठकमा आउँदिनँ भन्नुभएको छ । फिर्ता वा खारेज हुनुपर्छ भनिरहनुभएको छ । अनि, प्रचण्डले भन्नुभएको छ( दुईवटा प्रस्ताव आएका छन्, तर स्थायी कमिटीले अर्को प्रस्ताव ल्याउन सक्छ । त्यतातिर हामी किन नसोच्ने ?

यसको अर्थ नयाँ चिज स्थायी कमिटीले अगाडि सार्नुप¥यो । जसले समाधान दिँदा सबैलाई सन्तुष्ट पार्छ । चुनवाङ बैठकमा विचार, राजनीति सबै कुराले त्यो भयो । त्यतिकै चोचोमोचो मिलाएर त त्यहाँ समाधान भएको होइन नि । त्यस्तै परिवेश बन्ने सम्भावना छ ।

तर, त्यो आधार खोज्न त, एउटा ‘ग्रे एरिया’ का नेता हुनुपर्ला, जसले आफ्नै विवेकले निर्णय लिन सकुन् । तर, स्थायी कमिटीमा पनि ओली-प्रचण्ड(नेपाल निकट नेताहरु बहुमतमा हुनुहुन्छ नि ?

मैले भनिसकें कि म कुनै गुटमा छैन । कुनैबेला मेरो कोठामा भीड हुन्थ्यो, कति मान्छे भेला गर्थे ? त्यो तपाईंहरुले पनि देख्नुभएको छ । अहिले मैले त्यसो गरेको छैन । बाबुराम भट्टराई पार्टी छोडेर गइसकेपछि अध्यक्ष (प्रचण्ड) ले पेरिसडाडाँमा भन्नुभयो( गुटबन्दी गर्ने हो भने पार्टी विघटन गरौं । टोपबहादुरलाई गुट नबनाउनुहोस् भन्नुभयो । टोपबहादुरले पनि छुट्टै गुट बनाउनुभएको छैन । गुटबन्दीमा भएको भए मैले यसरी कुरा राख्न सक्थें ? मेरो गुटबन्दी भए हिजो ओलीले अध्यादेश ल्याउँदा अग्रपंक्तिमा रहेर त्यसको विरोध गरेँ । पछि, माधव र प्रचण्डले कमरेडले दुवै पदबाट हटाउन खोज्दा हुन्न भनेँ । राष्ट्रियको मुद्दामा दुवै पदबाट हटाउँदा राम्रो सन्देश जाँदैन भनेँ । प्रतिवाद गरेँ । अहिले भदौ २६ को निर्णय कार्यान्वयन नहुँदा प्रधानमन्त्रीले त्यसरी एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गर्ने र राजदूतहरुको सिफारिस गर्नु हुँदैनथ्यो भन्न सक्थें ? अनि केको गुटको कुरा गर्नु हुन्छ ? पार्टीलाई एकतावद्ध बनाउने कुरामा हामी एकतावद्ध हो । कुनै गुटले पार्टीलाई गलत दिशातिर लैजान खोज्यो भने कहाँ मानिन्छ र ? मानिँदैन नि ।

फेरि पनि सोध्यौं, स्थायी कमिटी सदस्यहरुमा त्यो हिम्मत छ ?

छ । दुबैतर्फबाट गलत कुरा आउँदा हामीले विरोध गरेर देखाएका छौं ।

नयाँ चर्चा पनि छ । तपाईं र टोपबहादुरसहित नेकपामा नयाँ गुट बनाउँदै हुनुहुन्छ ?

छैन । जसले फुटको कदम चाल्छ, त्यसको विरोध गर्ने भन्ने छ, हाम्रो । फुटपरस्त कदम जसले चाल्छ, त्यसको विरोध गर्ने हो ।

पछिल्लो विवादमा चाहिँ कसले फुट परस्त कदम चाल्यो होला ?

पहिलोपटक प्रधानमन्त्रीले चाल्नुभयो, अध्यादेश (दल विभाजन सम्बन्धी) ल्याएर । केन्द्रीय कमिटीमा ४० प्रतिशत माओवादीको पुग्थ्यो । माओवादीलाई पेलेपछि ४० प्रतिशत लिएर हिँडिहाल्छ, अनि १० जना मधेसवादी ल्याएपछि प्रधानमन्त्रीको ४० प्रतिशत पुग्थ्यो । यताबाट पेलियो भने उहाँ (ओली) लाग्ने भयो । परिणाम पार्टी विभाजनकै थियो, त्यसैले हामीले विरोध ग¥यौं । पछि, दुवै पदबाट हटाउने भनेपछि त फेरि पार्टी फुटतिर जाने भयो । त्यसको विरोध गरियो । पछिल्लोपटक प्रधानमन्त्री दुवै पदबाट सुरक्षित हुनुभयो । स्थायी कमिटीले निर्णय गरेको थियो । त्यो लागू गर्ने कुरा उहाँले मिस गर्नुभयो । मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिमा जसरी आफ्ना मान्छेहरु मात्रै राख्नुभयो, त्यसले बाहिर ओलीले जसरी पनि पेलेर जान्छ भन्ने सन्देश गयो ।

यसबारे हामीले उहाँकै अगाडि पनि र बाहिर पनि भनिरहेका छौं । जहाँ गलत भएको छ, त्यहाँ विरोध गरिएको छ । अहिले छलफल गरौं, नयाँ ठाउँबाट एकता गर्नुपर्छ भनिएको छ ।

अनलाईन खबरबाट