नारायणकाजी र कमानसिंह बीचको अडियो-भिडियोको वास्तविकता के हो त ?

२६ मंसिर, काठमाडौं । सत्तारुढ नेकपा नेता समेत रहेका कोरियाका पूर्वराजदूत कमानसिंह लामाको मृत्युमा शोक प्रकट गर्ने क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले विहीबार आफ्नै पार्टीका नेता नारायकाजी श्रेष्ठमाथि सांकेतिक कटाक्ष गरे ।

उपप्रधानमन्त्री पोखरेलले मृतक लामालाई श्रद्धाञ्जली

उपप्रधानमन्त्री पोखरेलले मृतक लामालाई श्रद्धाञ्जली दिँदै ट्विटरमा यस्तो लेखे- ‘कमरेड कमानसिंह लामा अब हामीवीच रहनुभएन ! हार्दिक श्रद्धान्जली ! तर वहाँले आफूसम्वद्ध कम्युनिष्ट पार्टीलाई – अझ यसमा आवद्ध ‘कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएको छ । अलविदा कमरेड कमानसिंह लामा !’

नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री पोखरेलले ‘कम्युनिष्ट आदर्शका कुरा गरेर नथाक्ने’ भनेर आफ्नै सहकर्मी श्रेष्ठमाथि संकेत गरेका हुन् ।

हुन त उपप्रधानमन्त्री पोखरेलले गरेको ट्विटको प्रतिक्रियामा कतिपयले उनलाई ‘पानीट्यांकीमा पैसा लुकाउने नेता’ रुपमा पुरानै आरोप लगाएर गाली समेत गरेका छन् ।

शाही शासनका बेलामा ‘पानीट्यांकीमा पैसा लुकाएको’ भनेर आफूमाथि अनावश्यक आरोप लाग्ने गरेको उपप्रधानमन्त्री पोखरेलले गुनासो पोख्दै आएका छन् । तर, यो ‘भ्रम’ को भुतले उनलाई खेद्न छाडेको छैन । तथापि मौका पाउनासाथ उपप्रधानमन्त्री पोखरेलले विहीबार तथ्य कुरो नै नबुझिकन आफ्ना सहकर्मी नारायणकाजीलाई ‘दनक दिन’ ढिलाइ
गरेनन् ।

नारायणकाजी र कमानसिंहको अडियो-भिडियो प्रकरण

जतिबेला उपप्रधानमन्त्री ईश्वर पोखरेलले कमानसिंह लामामाथिको श्रञ्द्धाञ्जलीलाई आफ्ना प्रतिद्वन्दीविरुद्धको हतियार बनाइरहेका थिए, त्यसबेला स्वर्गीय कमानसिंह लामा र नारायणकाजीको सम्वादको भिडियो-अडियो सामाजिक सञ्जालमा भाइरल बनिसकेको थियो ।

कमानसिंह र नारायणकाजीवीच करोडौं रुपैयाँको कारोबारबारे कुराकानी भएको त्यसमा देखिएकोरसुनिएको थियो । र, यो विषयलाई लिएर नारायणकाजीमाथि चर्को आलोचना हुन थालेको छ । र, नेकपा नेता श्रेष्ठमाथिको आलोचना विरोध अहिले पनि सामाजिक सञ्जालमा जारी छ ।

मिडियामा सार्वजनिक भएको अडियो-भिडियोमा पूर्वराजदूत कमानसिंह लामा र हाइड्रो व्यवसायीसमेत रहेकी श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्यवीच आर्थिक लेनदेनसम्बन्धी विवाद रहेको र सो विवाद मिलाउन नारायणकाजीले मध्यस्थता गर्न खोजेको देखिन्छ ।

कमानसिंह र सुसनको लेनदेन : यस्तो छ भित्री कथा

अडियो-भिडियोमा कमानसिंह र नारायणकाजीवीच भएको सम्वादको विषय के थियो भन्ने थाहा पाउन सुसन कर्माचार्य र कमानसिंह लामावीचको आर्थिक लेनदेनको विषय के हो भनेर खोतल्नुपर्ने हुन्छ ।

काभ्रे जिल्लाको मादनकुडारीमा जन्मेका कमानसिंह लामा निर्मला लामाकै पालादेखि कम्युनिष्ट पार्टीमा लागेका हुन् । माओवादी हुँदै नेकपामा समाहित हुनुभन्दा पहिले पनि उनी नारायणकाजी श्रेष्ठ नेतृत्वको पार्टीमा थिए । माओवादी केन्द्रमा हुँदा पनि उनी नारायणकाजी गुटकै नेता हुन् । कमानसिंहकी श्रीमती इन्द्रमाया तामाङ पनि जनमोर्चाकै केन्द्रीय नेतृ हुन् ।

जापानमा पढेर फर्केकी सुसन कर्माचार्य नेकपाका संस्थापक नेता स्व. नरबहादुर कर्माचार्यकी भतिजी एवं पूर्वनेकपा एकताकेन्द्रकै कार्यकर्ता हुन् । सुसनले अमिक शेरचन स्वास्थ्यमन्त्री भएका बेला उनको स्वकीय सचिवको समेत काम गरेकी छिन् । व्यवस्थापनमा राम्रो क्षमता राख्ने सुसन पछिल्लो समय हाइड्रो र हाउजिङ कम्पनीमा लागेकी छिन् ।

नेकपा नेता कमानसिंह लामाले आफ्नै अध्यक्षता आर्थिक वर्ष ०६४-०६५ मा याम्बालिङ हाइड्रो प्रालि नामक कम्पनी
खोले । उनले सिन्धुपाल्चोकमा ७ मेगावाट बिजुली निकाल्ने प्रजेक्टको लाइसेन्स समेत लिए ।

लामाको कम्पनीले याल्बालिङ खोलाबाट बिजुली निकाल्नका लागि विद्युत विकास विभागबाट ०७३ पुस ६ गते विद्युत उत्पादन अनुमति पत्र पायो । त्यसअघि ०७२ पुस २९ गते नै विद्युत प्राधिकरण र लामाको कम्पनीवीच विद्युत खरीद सम्झौतासमेत भइसकेको थियो ।

तर, कानूनले तोकेको समयमा कमानसिंह लामाको कम्पनीले विद्युत उत्पादन प्रक्रिया अगाडि बढाउन सकेन र लामा परिवार ऋणमा डुब्यो । सरकारले लाइसेन्स रद्द गर्ने अवस्था आइलाग्यो । यसबारे व्याख्या गर्दै कमानसिंह लामाकी श्रीमती इन्द्रमाया तामाङ भन्छिन्- ‘सो हाइड्रो सञ्चालनका लागि १० वर्षदेखि हाम्रो चलअचल सम्पति, आफन्त इष्टमित्र, पार्टीका साथीहरुको समेत ऋण धन लिएर सञ्चालन गर्ने प्रयत्न ग¥यौं । तर, न हामीले हाइड्रो सञ्चालन गर्न सफल भयौं, न त साथीभाइको ऋण नै चुक्ता गर्न सक्यौं ।’

यसरी ऋणमा डुबेपछि पति कमानसिंह र आफूले सुसन कर्माचार्यसँग हारगुहार गरेको इन्द्रमाया बताउँछिन् । उनी अगाडि भन्छिन्,’त्यहीबेला नेपाल विद्युत प्राधिकरणले हाम्रो अनुमतिपत्र खारेज गर्ने प्रक्रिया थालेपछि पार्टीका साथी र हाइड्रोको समेत अनुभव प्राप्त गर्नुभएको नाताले सुसन कर्माचार्य र अन्य साथीहरुलाई हामीले तपाईहरु पनि संलग्न भएर संस्था (कम्पनी) बचाइदिनोस् भनेर पटक(पटक अनुरोध ग¥यौं । सोहीबमोजिम हामी दुबैजना (कमानसिंह लामा र इन्द्रमाया तामाङ) को सहमतिमा हाम्रो केही सेयर रहने गरी सबै कानूनी प्रक्रिया पु¥याएर हस्तान्तरण ग¥यौं ।’

अन्ततः २०७५ साल फागुन २४ गते शुक्रबार कमानसिंह लामाको ऋणमा डुबेको कम्पनी (याल्बालिङ हाइड्रो) सुसन कर्माचार्य अध्यक्ष रहेको मनीप्लान्ट इन्भेष्टमेन्ट प्रालिले लियो ।

कम्पनी रजिष्टारको कार्यालयमा रहेको ०७५ साउन ७ मा प्रमाणित श्रेस्ता अनुसार प्रतिसेयर १०० का दरका निम्नअअनुसारका सेयरहरु कित्ताहरु दोस्रो पक्षमा नामसारी गर्ने लामाले करारानामा गरीदिए ।

करारनामा अनुसार शेयरधनीको नाम र शेयर कित्ताको विवरण यसप्रकार थियो 

प्रविना लामा ४०,०००, इन्द्रमाया तामाङ, ५,०५,९१९, भवेन्द्रकुमार मुक्तान ५०,०००, दाबा दोर्जे तामाङ १८०००, सानुकान्छा तामाङ १८०००, आशलाल तामाङ १८०००, कमानसिंह लामा ६०,२२०, जगतमान लामा ३६,००० र सुश्री लामा १८००० ।

यी कुल थान सेयरको लागत रकम ७ करोड ६४ लाख, १६ हजार ९०० रुपैयाँ प्रमाणित भएको थियो । यसमध्ये इन्द्रमायाको शेयरकित्ता मध्येबाट २ करोड ५० लाख रकम बराबरको २ लाख ५० कित्ता शेयरको सुसनको कम्पनीका नाममा नामसारी गरिदिने अध्यक्ष कमानसिंह लामाले ०७५ फागुन २४ मा लिखित सहमति दिएका थिए । सुसन र कमानसिंहले हस्ताक्षर गरेको यो करारनामामा ईन्द्रमायाले साक्षीका रुपमा हस्ताक्षर गरेकी थिइन् ।

हाइड्रो कम्पनीको मुख्य सेयर सुसनलाई २ करोड ५० लाखमा बेचिसकेपछि कमानसिंह र इन्द्रमायासहित पुराना सबै शेयरधनीहरुको शेयर ३० प्रतिशत कायम रहेको देखिन्छ भने ७० प्रतिशत सुसनको कम्पनीले लिएर हाइड्रो प्रोजेक्टलाई अगाडि बढाउन खोजेको करारनामामा देखिन्छ ।

०७५ फागुन २१ सम्मको अडिट वित्तीय विवरण अनुसार कम्पनीको इक्विटी र दायित्व ८ करोड ८५ लाख ३० हजार ३२५ देखिएको थियो । कम्पनीको चुक्ता पुँजी ७ करोड ६४ लाख १३ हजार ९०० देखिएको थियो ।

फागुन २४ देखि कम्पनीको नाफा घाटा, ऋण धन सबैको जिम्मा सुसनको कम्पनी (मनीप्लान्ट इन्भेष्टमेन्ट प्रालि) ले लिन मञ्जुरी गरेको थियो । सञ्चालक समितिको पुनर्गठन गर्न र सुसनलाई अध्यक्षको जिम्मेवारी दिन कमानसिंहले सहमति जनाएका थिए । समितिमा पुरानो टीमका शेयरधनीहरुको प्रतिनिधित्व इन्द्रमायाले गर्ने कामनसिंहले कागज गरिदिएको देखिन्छ ।

कमानसिंह लामा र सुसन कर्माचार्यवीच भएको करार सम्झौताको व्यहोरा हेर्दा आफू र नातागोतालाई समेत ऋणमा डुबाएका लामाकै चाहनाअनुसार कम्पनीलाई डुब्नबाट बचाउन प्रयास गरेको देखिन्छ । इन्द्रमायाले पनि आफूहरुलाई सुसनले डुबाएको नभएर उद्धार गरेको स्वीकारेकी छिन् ।

आधा दशकसम्म वर्षसम्म कमानसिंह लामाले खोलाको लाइसेन्स झोलामा राखेर शेरयधनीहरुलाई ऋणमा डुबाएको कम्पनी जिम्मा लिएपछि सुसनले याल्बालिङ हाइड्रोको काम अगाडि बढाइन् । भोजपुरमा ५ मेगावाटको प्रोजेक्टमा सफलतापूर्वक काम गरेको अनुभव उनले सिन्धुपाल्चोकमा पनि लगाइन् । इन्द्रमायाका अनुसार अहिले त्यहाँ प्रोजेक्टको काम धमाधम भइरहेको छ र शेयरधनीहरु आफ्नो लगानी जोगिनेका उत्साहित देखिएका छन् ।

तर, विवाद किन भयो ?

यसरी कमानसिंह लामाले डुबाएको कम्पनी सुसनलाई जिम्मा लगाएपछि कमानसिंह र सुसनवीच किन विवाद भयो त ?

लामाले खोलेको याल्बालिङ हाइड्रो कम्पनीमा जति पनि शेयरधनीहरु छन्, ती बढीजसो इन्द्रमायाका नातेदार र आफन्तहरु हुन् । उनैले कन्भिन्स गरेर शेयर हाल्न लगाएका व्यक्तिहरु हुन् । त्यसैले कम्पनी डुब्ब लाग्दा कमानसिंहलाई जति चिन्ता थियो, त्योभन्दा बढी चिन्तामा इन्द्रमाया थिइन् ।

सुसनले जिम्मा लिनुभन्दा अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण गरेर कर लगायतका चुक्ता गर्नुपर्ने दायित्वहरु कमानसिंह लामाले चुक्ता गर्नुपर्ने भनिएको थियो । लामाले लिएका अन्य ऋणहरु पनि चुक्ता गरेर कम्पनी जिम्मा लगाउनुपर्ने करारनामामा भनिएको थियो । तर, लामाले ती दायित्वहरु पूरा गरेनन् । ती दायित्व पूरा गर्ने उनीसँग रकम थिएन । त्यसपछि सुसनले याल्बालिङ हाइड्रोको बैंक ग्यारेन्टीमा लामाको जग्गा धितो राखेर २ करोड रुपैयाँ ऋण निकालिदिइन् । त्यसपछि लामाले आफ्नो व्यवहार सल्टाए ।

यसो गर्दा फाइनान्सिलय क्लोजर एवं कम्पनीको स्वामित्व हस्तान्तरणमा ढिलाइ भयो । पछि लामाले बैंकबाट निकालेको दुई करोडलाई ऋणमा कन्भर्ट गरौं, त्यो म जे गर्ने हो गरौंला, मलाई २ करोड ५० लाख रुपैयाँ नगद चाहियो भनेर सुसनसँग माग गर्न थाले । बैंकले त्यसलाई ऋणमा कन्भर्ट गर्न मानेन । लामाले भने बैंकको चुक्ता गरिदिएको बाहेक नै थप रकम मागेपछि दुईपक्षवीच विवाद भयो ।

स्रोतका अनुसार लामाले अदालतमा पनि मुद्दा हालेका थिए । एकचोटि प्रचण्डले पनि लामा र कर्माचार्यको विवाद मिलाउने प्रयास गरेका थिए ।

कमानसिंहकी पत्नी इन्द्रमाया भन्छिन्, ‘सुसनले बैंकको दुई करोड ऋण तिरिदिइसक्नुभयो, अहिले हाम्रो जग्गाजमीन उक्सिइसकेको छ । ऋणमा डुबेका हामीलाई उहाँले उद्धार गर्नुभयो ।’

यो आर्थिक कारोबारमा नेकपा नेता नारायणकाजी श्रेष्ठको कुनै संलग्नता नरहेको इन्द्रमाया बताउँछिन् । उनी भन्छिन्, ‘पार्टीमा सँगै काम गरेको नाताले मैले हाम्रो परिवार ऋणमा डुक्न लाग्यो, हामी सकिन लाग्यौं भनेर उहाँलाई पटक(पटक आग्रह गर्दा पनि उहाँले यस्तो कुरा मलाई नभन, भन्नुभएको थियो । पछि हामीलाई झगडा नगरी मिलेर काम गर भन्नुभएको थियो । यो लेनदेनमा उहाँको कुनै संलग्नता छैन ।

त्यो सार्वजनिक भएको अडियो(भिडियोमा पनि नारायणकाजीले कमानसिंह, इन्द्रमाया, सुसन सबैजना आफ्नै मान्छे हो भन्दै झगडा नगर्न र मिल्नलाई आग्रह गरेको इन्द्रमायाले अनलाइनखबरलाई बताइन् ।

त्यसैगरी सुसनको नेतृत्वमा रहेको याल्बालिङ हाइड्रो कम्पनीले पनि शुक्रबार विज्ञप्ति निकालेर यो विवादमा श्रेष्ठको संग्नता नरहेको बताएको छ ।

कमानसिंहको दुखान्त

जनमोर्चाकी पूर्वकेन्द्रीय सदस्य तथा हाल सत्तारुढ नेकपामा आवद्ध नेतृसमेत रहेकी इन्द्रमायाले आफूलाई श्रीमान (कमानसिंह लामा) मानसिक र शारीरिक यातनासमेत दिने गरेको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्, ‘मेरो श्रीमानले पटक(पटक मलाई पैसाको बाहना बनाई तनाव दिने, उहाँले भनेजति रकम नदिए कुट्ने, पिट्ने मानसिक यातना दिनेदेखि विभिन्न लाञ्छना लगाउने कामसमेत गर्नुभयो ।’

नेकपा नेता लामाले २०४८ सालमा काभ्रेबाट संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभाको चुनाव जितेका थिए । पछिल्लो समय दक्षिण कोरियाको राजदूत हुँदा भने उनी केही विवादमा तानिए । खासगरी म्यापावर व्यवसायीसँग लागेर लामाले आर्थिक चलखेल गरेका आरोपहरु त्यसबेला मिडियामा आएका थिए । यो केस अख्तियारसम्म पुगेको थियो ।

कोरोना पीडित पूर्वराजदूत लामाको निधन बुधबार राति त्रिवि शिक्षण अस्पतालमा भयो । उनी १५ दिनअघि अस्पताल भर्ना भएका थिए ।

कम्युनिस्ट नेता लामाले दुईवटी श्रीमती विवाह गरेका थिए । आर्थिक स्थिति एवं पारिवारिक सम्बन्ध बिग्रिएपछि विक्षिप्त बनेका लामाले अस्पतालबाटै लामो स्टाटस लेखेर पत्नी र भाइलाई आफ्नो काजकिरियामा सहभागी नहुन भनेका थिए ।

पति वियोगमा रहेकी इन्द्रमाया भन्छिन्, ‘बाँच्दा पनि रुवाउनुभयो, मरेर जाँदा पनि अनेक लाञ्छना लगाएर, रुवाएर जानुभयो । यस्तो पीडाको अवस्थामा पनि केही तत्वहरुले म, मेरो परिवार र राजनीतिक नेतृत्वसँग खेलवाडको विषय बनाइरहेको देख्दा दुःख लाग्छ ।

अनलाइनखबरबाट