अमेरिकामा पहिलो पटक महिला मुलुकको पहिलो अर्थमन्त्री बन्दै

एजेन्सी

९ मंसिर, काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भकी पूर्वप्रमुख जेनट यलन मुलुकको पहिलो महिला अर्थमन्त्री बन्ने भएकी छन् ।

समाचार संस्थाहरूले राष्ट्रपति निर्वाचित जो बाइडेनले उनलाई अर्थमन्त्री नियुक्त गर्न लागेको जनाएका छन् ।

कोभिड महामारीले थिलोथिलो भएको अर्थतन्त्र सम्हाल्ने गरी ७४ वर्षीय अर्थशास्त्री यलन अर्थमन्त्री बन्न लागेकी हुन् । यलन महँगी र बेरोजगारीबीच विपरीत सम्बन्ध हुन्छ भन्ने केन्सियन विचार राख्ने अर्थशास्त्री
हुन् ।

अमेरिकामा केही महिनाअघि बेरोजगारी दर दोस्रो विश्वयुद्ध यताकै उच्च विन्दुमा पुगेको थियो । हाल बेरोजगारी दर केही घटेको भए पनि आर्थिक वृद्धि दर सुस्त नै छ ।

यलनलाई राष्ट्रपति बाराक ओबामाले २०१४ मा ४ वर्षे कार्यकालका लागि फेडरल रिजर्भको प्रमुख बनाएका थिए । सन १९७० को दशकदेखि कायम भएको परम्पराविपरीत राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उनलाई दोस्रो कार्यकालका लागि दोहो¥याएनन् । बरू ट्रम्पले चुनावी अभियानका क्रममा बेरोजगारी घटाउन, उत्पादन बढाउन, महँगी घटाउन नसकेको आरोप यलनलाई लगाएका थिए ।

ट्रम्पले अर्थतन्त्र बुझेका छन् त भन्ने प्रश्नमा यलनले ‘कत्ति पनि बुझेका छैनन’ भन्ने टिप्पणी गर्दै आएकी थिइन् । पछिल्लो समय उनले कोरोना प्रभावित अर्थतन्त्रको उत्थानका लागि संघीय सरकारले खर्च बढाउनु पर्ने तर्क गर्दै आएकी थिइन् ।

‘सर्वसाधारणले धेरै दुःख पाएका छन्, सरकारले खर्च बढाउनुको विकल्प छैन,’उनले भनेकी थिइन् ।

इलन युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कले अर्थशास्त्रको प्राध्यापक थिइन् । त्यसअघि उनले हार्वड, लन्डन स्कुल अफ इकोनोमिक्समा पनि अध्यापन गरेकी थिइन् । उनका श्रीमान जर्ज अकरलोफ नोबेल बिजेता अर्थशास्त्री हुन् ।

डेमोक्रेटिक पार्टीभित्रकै प्रगतिशील समूहले सिनेटर एलिजावेथ वारेन अर्थमन्त्री बन्ने अनुमान गरेका थिए । यलन अर्थमन्त्री हुने समाचार प्रकाशित भएपछि वारेनले ट्विटरमा ‘अद्वीतिय छनौट‘ भन्ने टिप्पणी गरेकी छन् ।