१८ वर्षीय बालिकालाई बलात्कार गरी हत्या गर्ने प्रयास

८ मंसिर, जनकपुरधाम । धनुषाकी एक १८ वर्षे युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । मिथिला नगरपालिका २ नकटाझिजकी १८ बर्षीया युवतीलाई तीनजनाको समूहले बलात्कार गरेको हो । बलात्कारपछि उनीहरुले झुण्डयाएर हत्या गर्ने प्रयास गरेका थिए ।

घटना मंसिर ३ गतेको भए पनि हिजो साँझ मात्र बाहिर आएको छ ।

पीडित बालिकाको अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।

३ कात्तिकको साँझ साथीका नातेदार राजेश महतोले फोन गरेर घर नजिकैको सडकमा ति बालिकालाई बोलाए । महतोले बोलाएको ठाउँमा पुग्दा अरु एकजना अर्को साथि पनि थिए ।

युवतीले भनिन् ‘राजेशसहित दुईजनाले मुखमा रुमाल कोचेर बोल्न नदिई बर्दिवास लगे । त्यहाँ थप एकजना अर्को थपिए । र, तीनैजनाले पालैपालो करणी गरे ।’

सामूहिक बलात्कारपछि तीनजनाको समूहले उनलाई मोटरसाइकलमा घर ल्याएका थिए । युवतीले बाटोमै ‘तिमीहरुविरुद्व कानुनी उपचारमा जान्छु’ भनेपछि सडकमै रोकेर ‘बर्दिवासमा हाम्रो राज चल्छ’ भन्दै उनीहरुले बाटोमै घाँटी थिचेर मार्ने प्रयास गरेको उनले बताइन् । ‘मेरै सल लिएर त्यसकै पासो बनाएर उनीहरुले मलाई एउटा रुखमा झुण्डयाए’ ‘झुण्डयाएर भागेको केहीबेरमै गाउँकै एकजनाले देखेपछि उद्धार गर्नुभयो र म बाँचेंको बताइन ।

त्यसपछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । उनका अनुसार बलात्कार र हत्या प्रयास गर्ने समूहले सुनको सिक्री, कानमा लगाएको सुनको गहना र मोबाइलसमेत लुटेको युवतीले बताएकी छन् ।

यसैबीट सोही घटना सार्वजनिक भएलगत्तै प्रहरीले घटनामा संलग्न भएका दुई युवकलाई पक्राउ गरेको छ । फरार भएका एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २० वर्षीय शिवचन्द्र कृपाल महतो र सरोज महतो पक्राउ परेका छन् ।