सीमा विवादका कारण चिसिएको नेपाल–भारत सम्बन्धमा सुधारको लागि भ्रमणको तयारी

२५ कात्तिक, काठमाण्डौ । सीमा विवादका कारण चिसिएको नेपाल–भारत सम्बन्धमा सुधारको पहल हुन थालेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले दुई देशबीचको सम्बन्धमा सुधार ल्याउन सक्रियता देखाएका हुन् । सोहीअनुसार भारतबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने भएको छ ।

सुरुमा भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला, त्यसपछि विदेशमन्त्री जयशंकर र त्यसलगत्तै भारतका रक्षामन्त्री राजनाथ सिंह वा गृहमन्त्री अमित शाहमध्ये कोही एक नेपाल आउने तयारी भइरहेको छ ।

विदेश सचिव श्रृंगला र विदेशमन्त्री जयशंकारको नेपाल भ्रमण तय भइसकेको छ । भारतीय दूतावास स्रोतका अनुसार विदेश सचिव श्रृंगला नोभेम्बर २६ मा नेपाल आउन लागेका छन् । विदेश मन्त्री जयशंकर भने डिसेम्बरमा आउने छन् । विदेश मन्त्री आउने तय भए पनि मिति तोकिएको छैन ।

विदेश सचिव श्रृंगला फर्केपछि विदेशमन्त्री जयशंकरको भ्रमण मिति तय हुने बताइएको छ । हुन त २०१९ डिसेम्बरमै भारतीय विदेश सचिव नेपाल आउने तय भएको थियो । तर त्यतिबेला नै सचिव परिवर्तन भएकाले भ्रमण स्थगित भएको थियो ।

त्यसपछि कोरोना महामारी सुरु हुनुका साथै नेपाल र भारतबीच सीमा विवाद पनि चर्किएको थियो । सीमा विवादपछि दुई देशबीचको सम्बन्धमा चिसोपन देखिएको छ ।
भारतीय विदेश मन्त्रीको भ्रमण पनि गत मार्चरअप्रिलमै हुने तय थियो । तर दुई देशबीचको विवाद र कोरोनाको कहरले गर्दा भ्रमण स्थगित गरिएको थियो । कोरोना र सीमा विवादका कारण रोकिएका सम्पूर्ण भ्रमणलाई ढिलै भए पनि सुचारु गराउन थालिएको भारतीय दुतावास स्रोतले बताएको छ ।

विदेश सचिव श्रृंगला र विदेश मन्त्री जयशंकरको भ्रमण कार्यतालिका अनुसार नै हुन लागेको हो भने गृहमन्त्री शाह र रक्षामन्त्री सिंहमध्ये कुनै एक मन्त्रीको भ्रमण विशेषखालको हुने बताइएको छ । उक्त भ्रमण आगामी जनवरी वा फेब्रुअरीमा हुने स्रोतको भनाइ छ ।

तर नेपालले त्यसको तयारी कस्तो गर्छ, त्यो बेलासम्म नेपाल र भारतको सम्बन्ध कस्तो हुनेछ, राजनीतिक अवस्था कस्तो हुनेछ भन्ने कुराले भ्रमणलाई प्रभाव पार्न सक्ने बताइएको छ ।

सीमा विवादलाई लिएर नेपाल र भारतबीच सम्बन्ध बिग्रिएकै समयमा भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल र त्यसपछि भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण भएको थियो । हालै भएका ती भ्रमणले आपसी सम्बन्धमा केही सुधार भएको महसुस दुवै पक्षले गरेका छन् । सोही कारण पनि भारतका तर्फबाट नेपालमा उच्चस्तरीय भ्रमणको तयारी भएको हो ।

सीमा विवाद समाधानका लागि भारतले कुनै चासो नदेखाएको आरोप लागिरहेको बेला भारतले नेपालमै आएर त्यस विषयमा कुराकानी गर्ने तयारी गरेको छ । यी भ्रमणहरुले सीमा विवादलाई समाधान गर्ने बताइएको छ ।
गत पुसमा नेपालका लागि भारतीय राजदूतमा नियुक्त भएका क्वात्राले नेपाल आउनेबित्तिकै सक्रियता बढाएका थिए । विश्वमा कोरोना महामारी सुरु भएसँगै जिम्मेवारी सम्हालेका उनले कोरोना महामारीकै बीचमा पनि दुई देशबीचको सम्बन्ध सुधारका लागि निकै प्रयास गरे । उनी नेपाल सरकारका प्रतिनिधि तथा दलका नेताहरुसँग नियमित सम्पर्कमा थिए ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग उनी नियमित सम्पर्कमा रहेर दुई देशबीचको सम्बन्ध सुधारमा सक्रिय रहे । कोरोनाकै बीचमा उनी दिल्ली गएर नेपालको बारेमा त्यहाँको सरकारलाई ब्रिफिङ गरेका थिए । उनको ब्रिफिङपछि नै ‘रअ’ प्रमुख गोयलको नेपाल भ्रमण भएको हो ।

त्यतिमात्र होइन, उनले नेपाल र भारतबीच हुने सहयोग अदानप्रदान कार्यक्रममा सक्रिय सहभागिता जनाएका छन् । भारत सरकारका तर्फबाट नेपाललाई कोभिडका लागि दिइएको सहयोग उनी आफै स्वास्थ्य मन्त्रालयदेखि अन्य मन्त्रालयसम्म पुगेर हस्तान्तरण गरे ।

सोमबारमात्र राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले ‘मैले बुझेको गान्धी’ नामक पुस्तक विमोचन गराए । भारतीय सेनाध्यक्ष नरवणेको भ्रमण सफल पार्न पनि उनी सक्रिय थिए ।

कार्तिक १९ गते परराष्ट्र सचिव भरतराज पौड्यालसँग मन्त्रालयमै पुगेर भेटघाट गरेका उनले त्यसको अघिल्लो दिन अर्थात् कार्तिक १८ गते अर्थमन्त्री विष्णु पौडेललाई उनकै कार्यकक्षमा भेट गर्दै गोरखा र नुवाकोटमा आवास पुनर्निर्माण परियोजनाका लागि एक अर्ब रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । असोज २४ गते विभिन्न जिल्लाका लागि उनले दुतावासबाटै एम्बुलेन्स वितरण गरेका थिए ।

रातोपाटीबाट